८ बैशाख २०८३, मंगलवार
Follow Us

महाधिवेशनतर्फ होमिए गगन, भने- ‘गाडी गुडिसक्यो, अब कोही छुट्दैनन्’

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०८२, बुधबार ०६:१७

काठमाडौं । नेपाली कांग्रेसभित्रको तीव्र ध्रुवीकरण र वैधानिकताको चर्को विवादका बीच सभापति गगन थापा १५ औँ महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्नुभएको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा थापाले आगामी २०८३ भदौमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गरेका हुन् ।

विशेष महाधिवेशनबाट नेतृत्व सम्हालेका थापाले पार्टीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्ने मान्यताका साथ महाधिवेशनको ‘रोडम्याप’ अघि सारेका हुन् । उनले प्रस्तुत गरेको प्रस्ताव अनुसार आगामी साउन ६ गते देशभरका वडा अधिवेशनबाट संगठनको तल्लो तहदेखि नै निर्वाचनको प्रक्रिया सुरु हुनेछ । साउन मसान्तसम्म पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरी भदौ ६ र ७ मा जिल्ला तथा १५ र १६ मा प्रदेश अधिवेशन गर्ने लक्ष्य राखिएको छ ।

बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब कसैको पर्खाइमा पार्टीको गति नरोकिने स्पष्ट संकेत दिए । ‘मैले सभापतिको रूपमा गाडी हाँकेको छु, अब यो गाडी रोकिँदैन,’ थापाले भनेका छन्, ‘विगतमा को कहाँ हुनुहुन्थ्यो भन्ने पूर्वाग्रह नराखी म सबैलाई समेटेर अघि बढ्न तयार छु ।’

संस्थापन पक्ष (देउवा-कोइराला समूह) ले चैत २२ गतेको सर्वोच्च अदालतको फैसला नआएसम्म महाधिवेशन प्रक्रिया स्वीकार नगर्ने अडान राखेको छ । तर, थापा पक्षले भने असहयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने र सहमतिमा आउनेहरूलाई उचित जिम्मेवारी दिने ‘काउन्टर’ रणनीति तय गरेको छ ।

सहमहामन्त्री प्रकाश स्नेहीले महाधिवेशनमा अवरोध पुर्‍याउने जोसुकैलाई पदबाट हटाएर नयाँ जिम्मेवारी तोकेरै भए पनि महाधिवेशन सम्पन्न गर्ने चेतावनी दिएका छन् । अर्कोतर्फ, देउवा पक्षका २५ जना प्रभावशाली नेताहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेर पार्टीमा सन्तुलन मिलाउने र विपक्षी धारलाई कमजोर बनाउने गगनको योजना रहेको स्रोतको दाबी छ ।

पार्टी विभाजनको जोखिम देखेपछि नेता महेन्द्र यादव लगायतले दुवै कार्यसमितिलाई ‘मर्ज’ गरेर दुई जना सभापति राख्ने मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । तर, गगन निकट महामन्त्री प्रदीप पौडेलले भने प्रक्रियाबाट पछाडि फर्कन नसकिने अडान दोहोर्‍याएका छन् । ‘प्रक्रिया जहाँ पुग्यो, त्यहाँबाट फर्कनु उचित हुँदैन,’ पौडेलले भने, ‘हामी अग्रजहरूको सम्मान गर्दै १५ औँ महाधिवेशनको तयारीमा जुटिसकेका छौँ ।’

अहिले मधेस, बागमती र कोसी प्रदेशका सभापतिहरूले थापाको नेतृत्वलाई स्वीकार गरिसकेका छन् । यसले थापालाई सांगठनिक रूपमा थप बलियो बनाएको छ ।

आगामी चैत २२ गते सर्वोच्च अदालतले दिने आदेशले गगन थापाको यो यात्रालाई कानुनी रूपमा कुन मोड दिन्छ भन्ने चासो सर्वत्र छ । तर, राजनीतिक रूपमा भने थापाले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर आफूलाई ‘ब्याक’ नहुने नेताको रूपमा उभ्याएका छन् । कांग्रेसभित्रको यो शक्ति संघर्षले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउँछ वा विभाजनतर्फ धकेल्छ, त्यो भने आगामी दिनको राजनीतिक समझदारीमा निर्भर रहनेछ ।

धेरै पढिएको