काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।
सोमबार साम्पाङले ‘सुनिता खड्का’ नाम गरेकी एक महिलाविरुद्ध उजुरी दर्ता गराएका हुन् । उजुरीमा ती महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक रहेको उल्लेख गरिएको छ ।
साम्पाङले टिकटक मार्फत आफूलाई ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिइएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीमा उनले ती व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउनेसम्मको धम्की दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
साम्पाङले उक्त व्यक्तिको टिकटक आइडीसमेत उजुरीमा समावेश गरेका छन् । साथै, ‘सरकारले आफ्नै समर्थकमाथि कारबाही गर्छ कि गर्दैन ?’ भन्ने प्रश्न समेत उठाएका छन् ।