१७ चैत्र २०८२, मंगलवार
Follow Us

उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०८२, मंगलवार १०:३९

काठमाडौँ । उच्च अदालत पाटनका दुई जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

सोमबार सर्वोच्च अदालतमा न्यायाधीश ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दायर गरिएको हो । उक्त रिट कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेका हुन् ।

रिट निवेदनको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ । निवेदनमा उच्च अदालत पाटनले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित बाध्यकारी कानुनी सिद्धान्तको पालना नगरी निर्णय गरेको आरोप लगाइएको छ ।

चौधरीले आफ्नो निवेदनमा सर्वोच्च अदालतका विभिन्न निर्णयबाट स्थापित कानुनी सिद्धान्तहरू उल्लेख गरे पनि ती सिद्धान्तलाई बेवास्ता गर्दै फैसला गरिएको दाबी गरेका छन् ।

निवेदन अनुसार नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानुनी आधारबिना गरिएको भन्दै उक्त कार्य बदर गराउन उच्च अदालत पाटनमा रिट दायर गरिएको थियो । तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनका आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने ठहर गर्दै रिट निवेदन खारेज गरेको थियो ।

चौधरीले सर्वोच्च अदालतले विभिन्न मुद्दामा प्रतिपादन गरेका ‘कानुनले स्पष्ट अधिकार नदिएसम्म कुनै पनि निकायले अधिकार प्रयोग गर्न नपाउने’ तथा ‘राज्यका प्रत्येक निकायले कानुनको अधीनमा रही काम गर्नुपर्ने’ लगायतका सिद्धान्तको जानाजानी अवज्ञा गरिएको आरोप लगाएका छन् ।

नेपालको संविधानको धारा १२८ (४) अनुसार सर्वोच्च अदालतले प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था विपरीत तल्लो अदालतबाट निर्णय आएको भन्दै अवहेलनाको विषय बनेको दाबी गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

धेरै पढिएको