काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नवगठित सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी कार्यसूचीलाई सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण प्रारम्भिक कदमका रूपमा मूल्यांकन गरेको छ।
संस्थाले जारी गरेको धारणा अनुसार प्रतिनिधि सभामा करिब दुई तिहाइ बहुमतसहित गठन भएको सरकारले पहिलो बैठकमै समय सीमासहितको विस्तृत कार्यसूची पारित गर्नु जनादेश अनुरूप रहेको र लामो समयदेखि उठ्दै आएका सुशासनसम्बन्धी मुद्दाहरू समेटिएको उल्लेख गरेको छ। यसलाई सरकारको सुशासनप्रतिको प्रतिबद्धताको संकेतका रूपमा समेत हेरिएको छ।
उक्त कार्यसूची कार्यान्वयनको प्रक्रिया अघि बढिसकेकोप्रति सन्तोष व्यक्त गर्दै संस्थाले निर्धारित समयभित्र सबै कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न हुने अपेक्षा गरेको जनाएको छ। साथै, सुशासन सुदृढीकरणका लागि आफ्नो अनुभव र प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
संस्थाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेको छ।