काठमाडौं । पोर्चुगल सरकारले काठमाडौंमा कूटनीतिक नियोग खोल्ने घोषणा गरेको छ । बुधबार (चैत १८)परराष्ट्रमन्त्री शिशिर खनालसँगको टेलिफोन वार्तामा पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेलले उक्त घोषणा गरेका हुन् ।
पोर्चुगलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “फोन वार्तामा, विदेशमन्त्री पाउलो रंगेलले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई हालै परराष्ट्रमन्त्रीको रूपमा नियुक्त भएकोमा बधाई दिनुभयो । यो काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापनाको घोषणा गर्ने अवसर पनि थियो । यो द्विपक्षीय सम्बन्धमा लगानी हो, जसमा पर्यटन, कृषि र प्रविधि जस्ता क्षेत्रहरू पनि समावेश छन् ।”
नेपालले काठमाडौंमा दुतावास खोल्नको लागि पोर्चुगललाई अनुरोध गर्दै आएको थियो । यसै क्रममा पोर्चुगलले हाललाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्ने निर्णय गरेको हो ।
पोर्चुगलमा ६० हजारभन्दा बढी नेपाली रहेका छन् । काठमाडौंमा पोर्चुगलको नियम नहुँदा त्यहाँ पुगेका थुप्रै नेपालीले कागजात प्रमाणीकरण गर्दा दुःख पाइरहेका थिए । अब काठमाडौंमा कन्सुलर कार्यालय खोलेपछि यस्तो झन्झट व्यहोर्नुपर्ने छैन ।
हाल पोर्चुगलमा रहेकामध्ये झन्डै दुई हजार नेपालीले कानुनी समस्या झेलिरहेका छन् । उनीहरूको प्रहरी रिपोर्टमा नक्कली छाप लगाई प्रमाणीकरण गरेको भेटिएपछि उनीहरू अप्ठ्यारोमा परेका हुन् ।
बुधबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खनालले कानुनी समस्यामा परेका नेपालीलाई मानवीयताका हिसाबले उनीहरूको समस्या समाधान गरिदिन पोर्चुगलका समकक्षीलाई अनुरोध गरेका थिए । पोर्चुगलका विदेशमन्त्रीले यस विषयमा आफू सकारात्मक रहेको जनाएका थिए ।