२२ चैत्र २०८२, आईतवार
Follow Us

भलिबल टिममा एकै घरका चार जना सदस्य

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८२, आईतवार ०५:३७

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् ।

४२ वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी छन् । दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् ।

“बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ”, नरेशले भने, “हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।” कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आएका छन् ।

नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् । एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उनका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्छन् ।

घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका-७ धारापानी र वडा नं २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ । नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन/तीनवटा स्वर्ण पदक दिलाउँदै जनता माविलाई विजयी बनाउन योगदान गरे ।

नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाए । नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिएका छ्न् । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जितेका थिए ।

मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्किएका हुन् । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आएका छन् । आठवटा घोडा पालेका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पनि पुग्ने गर्छन् ।

फुर्सदको समय र मेलाजात्रामा उनीहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जान्छन् । उनीहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्ट्रेलियामा रहेका इम रोकाले शनिबार रु २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराए ।

अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्ट्रेलियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गरेका छन् । “सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ”, सबहादुरले भने, “शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।”

धेरै पढिएको