२६ चैत्र २०८२, बिहीबार
Follow Us

पिटरबरोमा सामुदायिक हलको उद्घाटन

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०८२, बिहीबार १४:२६

पिटरबरो – पिटरबरो नेपाली समाज (पीएनएस) स्टाफोर्ड कम्युनिटी हलको उद्घाटन गरिएको छ।

गत सोमबार आयोजित एक समारोहमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडी, पिटरबरो सिटी काउन्सिलका मेयर काउन्सिलर श्रीमती जुडी फक्स तथा पिटरबरो नेपाली समाजका अध्यक्ष विष्णु थापाले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रमको सुरुवात हलको मुख्य प्रवेशद्वारमा रिबन काटेर गरिएको थियो भने त्यसपछि हलभित्र पारम्परिक पानस बालेर औपचारिक रूपमा हलको उद्घाटन गरिएको थियो।

पिटरबरो सिटी काउन्सिलले १ मे २०२५ देखि लागू हुने गरी वार्षिक १ पाउण्डको प्रतीकात्मक भाडामा ९९ वर्षका लागि उक्त हल पिटरबरो नेपाली सोसाइटीलाई उपलब्ध गराएको हो। हल उद्घाटनअघि संस्थाले स्वयंसेवक तथा समुदायका सदस्यहरूको सहयोगमा आठ महिनासम्म मर्मत तथा स्तरोन्नति कार्य सम्पन्न गरेको थियो।

पिटरबरो नेपाली समाजका अध्यक्ष विष्णु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख वक्ताहरूमा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, काउन्सिलर डा. सबिना असद कय्यूम, भरा हिन्दू समाजका अध्यक्ष किशोर लाडवा, घानियन समुदायका प्रतिनिधि जेम्स अमोआकोहेने, इटालियन समुदायकी केन्द्रीय प्रबन्धक इसाबेला, साझा नेपाली समाजका अध्यक्ष नारायण फुयाल लगायत थिए।

कार्यक्रममा समाजका ट्रस्टी डा. राजु सापकोटाले पिटरबरो नेपाली सोसाइटीको पहिचान, उपलब्धि तथा गतिविधिबारे प्रस्तुति दिएका थिए भने ट्रस्टी इञ्जिनियर घनश्याम पौडेलले हलको मर्मत, खर्च विवरण तथा भावी प्रयोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।

त्यस्तै, ट्रस्टी संयोजक केशव खतिवडा र ट्रस्टी महेश अधिकारीले पनि संस्थाको उद्देश्य तथा हललाई समुदायिक गतिविधि र सेवाका केन्द्रका रूपमा विकास गर्ने योजनाबारे जानकारी गराएका थिए।

आफ्नो मन्तव्यमा समाजका अध्यक्ष विष्णु थापाले पिटरबरो सिटी काउन्सिलले संस्थामाथि देखाएको विश्वास र सहयोगका लागि आभार व्यक्त गर्दै उक्त हल नेपाली समुदाय मात्र नभई पिटरबरोका समग्र समुदायका लागि साझा केन्द्रका रूपमा उपयोग गरिने बताए। उनले उक्त हल घानियन, जिम्बावेयन तथा अहमदिया मुस्लिम समुदायले पनि आफ्ना धार्मिक तथा समुदायिक कार्यक्रमका लागि प्रयोग गरिरहेको उल्लेख गरे।

विभिन्न समुदायबीच सहकार्य र एकता प्रवर्द्धन गर्ने उद्देश्यले ती समूहहरूलाई हल भाडामा ३० प्रतिशत छुट प्रदान गरिएको जानकारी दिँदै पीएनएसले हललाई सबैका लागि साझा स्थान बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमको संचालन समाजका महासचिव देवी गौतमले गरेका थिए।

कार्यक्रमको दोश्रो चरणमा आयोजित नयाँ वर्ष शुभकामना साँझमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु गरिएका थिए।

धेरै पढिएको