अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका अन्तर्गत मेडिहेल्थ सेण्टरले “दाता सदस्यता कार्यक्रम” नामक अभियान सुरु गर्दै सहयोगका लागि सार्वजनिक अपिल गरेको छ। उक्त अभियानको मुख्य उद्देश्य विगत २५ वर्षदेखि बन्द अवस्थामा रहेको अस्पताललाई पुनः सञ्चालनमा ल्याउनुका साथै ग्रामीण भेगका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाइएको छ।
संस्थाका अनुसार आजको समयमा पनि धेरै ग्रामीण क्षेत्रका नागरिकहरू सामान्य स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन्। यस्तो अवस्थामा सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास लिइएको छ। अभियानमार्फत संकलित रकम अस्पतालको पुनर्निर्माण, आवश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्था तथा दक्ष स्वास्थ्यकर्मीहरूको व्यवस्थापनमा खर्च गरिने बताइएको छ।
मेडिहेल्थ सेण्टरले सबैलाई यस पुण्य कार्यमा सहभागी भई दाता सदस्य बन्न आग्रह गरेको छ। संस्थाले नागरिकहरूको साथ, सहयोग र प्रतिबद्धताले हजारौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ।
साथै, सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई अभियानमा सक्रिय सहभागिता जनाउन सबैलाई अनुरोध गरिएको छ। संस्थाले सहयोगका लागि अग्रिम धन्यवाद समेत व्यक्त गरेको छ।