इसराइल र लेबननबीच युद्धविराम लागू भएको छ ।बिहीबार मध्यरातिदेखि प्रभावमा आएको उक्त युद्धविराम १० दिनका लागि रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका हुन् ।
युद्धविराम सुरु भएसँगै लेबननको राजधानी बेरुतका विभिन्न स्थानमा हवाई फायरिङ गरेर उत्सव मनाइएको प्रत्यक्षदर्शीहरूले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएका छन् । तर, युद्धविराम टिकाउ हुनेमा भने आशंका कायमै देखिएको छ ।
लेबनन सेनाले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै इसराइलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । दक्षिणी क्षेत्रका केही गाउँमा छिटफुट गोलाबारी भएको दाबी गरिएको छ । उता इसराइलले औपचारिक प्रतिक्रिया नदिए पनि सैन्य प्रवक्ताले हिज्बुल्लाहका गतिविधि जारी रहेकाले सेना तैनाथ राखिएको संकेत दिएका छन् ।
इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहले युद्धविराम लागू हुनुअघि राति ११:५० बजे अन्तिम आक्रमण गरेको जनाएको छ, जुन युद्धविराम सुरु हुनुभन्दा १० मिनेटअघि थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले हिज्बुल्लाहलाई युद्धविरामको सम्मान गर्न आग्रह गर्दै अब हिंसा रोकिएर शान्ति स्थापना हुनुपर्ने बताएका छन् ।
विश्लेषकहरूका अनुसार यो युद्धविराम केवल इसराइल–लेबनन द्वन्द्वमा सीमित नभई व्यापक क्षेत्रीय राजनीतिक सन्तुलनसँग जोडिएको छ। यदि सहमति टिकाउ भयो भने इरानसँग सम्भावित ठूलो शान्ति सम्झौताका लागि आधार बन्न सक्ने देखिन्छ । यसैबीच अमेरिका–इरानबीच पनि वार्ताको तयारी भइरहेको जनाइएको छ ।
यसअघि फागुन १६ गते अमेरिका र इसराइलले इरानमा संयुक्त आक्रमण गरेपछि हिज्बुल्लाहले लेबननबाट इसराइलमाथि प्रतिकारात्मक हमला सुरु गरेको थियो । त्यसयता इसराइलले लेबननमा आक्रमण तीव्र बनाउँदै आएको थियो ।
केही दिनअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोको पहलमा इसराइल र लेबननका राजदूतबीच प्रारम्भिक वार्ता भएको थियो, जसले औपचारिक संवादको बाटो खोलेको मानिएको छ । युद्धविराम लागू भएसँगै दुवै पक्षले शान्तिको सम्भावनाप्रति सकारात्मक संकेत दिएका छन्, तर त्यसको दीर्घकालीन स्थायित्व भने अझै अनिश्चित देखिएको छ ।