काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कूटनीतिक राहदानीबारे छलफल सुरु गरेका छन् ।
बुधवार सिंहदरबारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएर उनले कूटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।
कूटनीतिक राहदानीको माग सांसदहरूले गरिरहेका बेला त्यसको दुरुपयोग हुने नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले बताएकी हुन् ।
विगतमा सांसदहरूले नै कूटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श सुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमति गरिएको पनि उनले बताइन् । विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानुनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूले धारणा सो अवसरमा राखेका थिए ।
प्रमुख सचेतक ओलीले भनिन् ‘विभिन्न प्रतिनिधिसभा सदस्यहरूले कूटनीतिक राहदानीको माग आइरहेका बेला त्यसलाई कसरी अगाडि बढाउने भनेर हामी सबै पार्टीका सचेतक, प्रमुख सचेतक सभामुखले बोलाउनुभएको थियो । यसमा राहदानी ऐन, २०७६ ले र नियमावलीअनुसार विशेष सरकारी कार्यक्रमहरूमा वा विशेष काममा जाँदा तोकेका पदाधिकारीहरूले मात्रै पाउने कुरा रहेछ ।’
छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले कूटनीतिक राहदानीको प्रयोग सम्बन्धी विद्यमान कानुन व्यवस्था बारे ब्रिफिङ गरेका थिए ।