लण्डन । १८ पुराणका ज्ञाता तथा चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत भ्रमणमा आउने भएका छन्। सुवेदी धर्मदर्शन कल्चर सेन्टर बेलायतको आयोजनामा लण्डनमा हुन लागेको एक धार्मिक भेलामा सहभागी हुन बेलायत आउन लागेका हुन्।
धर्मदर्शन कल्चर सेन्टरका अध्यक्ष सहदेव गिरीका अनुसार पण्डित सुवेदीले आगामी मे ३१ तारिख, आइतबार लण्डनस्थित स्ट्यानवेल (हिथ्रो) कम्युनिटी हलमा आयोजित कार्यक्रममा प्रवचन दिने कार्यक्रम रहेको छ।
धर्मदर्शन कल्चर सेन्टर पश्चिम लण्डनमा एक बृहत् सांस्कृतिक केन्द्र स्थापना गर्ने उद्देश्यसहित स्थापना गरिएको संस्था हो।
कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी, बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी तथा आम बेलायतबासी नेपालीहरुलाई आमन्त्रण गरिएको छ।
धर्मदर्शन कल्चर सेन्टर बेलायतस्थित नेपाली समुदायले आफ्ना धार्मिक, सांस्कृतिक परम्परा र मूल्यमान्यतासहितका चाडपर्वहरुलाई एउटै साझा मञ्चमा समेट्दै पश्चिम लण्डनमा एक धार्मिक तथा सांस्कृतिक तीर्थस्थल विकास गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो।

