२५ बैशाख २०८३, शुक्रबार
Follow Us

वेलायतका पुराना पार्टीलाई ‘रिफर्म यूके’ ले दियो टक्कर

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०८३, बिहीबार २३:३४

लन्डनमा रिफर्म युके पार्टीको बढ्दो प्रभाव

लन्डन — युनाइटेड किंगडमको राजनीतिक परिदृश्यमा पछिल्ला वर्षहरूमा तीव्र रूपमा उदाउँदै आएको राजनीतिक शक्ति रिफर्म युके (Reform UK) अहिले व्यापक चर्चामा रहेको छ। प्रारम्भमा सन् २०१८ मा ब्रेक्जिट पार्टीको रूपमा स्थापना भएको यो संगठन युरोपियन युनियनबाट बेलायतको अलग हुने अभियानलाई मुख्य एजेन्डा बनाएर अघि बढेको थियो। पछि सन् २०२१ मा यसलाई पुनः ब्रान्डिङ गर्दै ‘रिफर्म युके’ नाम दिइएको हो, जसले ब्रेक्जिटपछि नयाँ राजनीतिक दिशातर्फ आफूलाई विस्तार गरेको देखिन्छ।

पार्टीको नेतृत्व हाल नाइजेल फराजले गरिरहेका छन्, जो बेलायतको राजनीतिक क्षेत्रमा लामो समयदेखि परिचित नाम हुन् र ब्रेक्जिट अभियानका प्रमुख अनुहारमध्ये एक मानिन्छन्। रिचर्ड टाइस उपनेताको भूमिकामा छन् भने डेविड बुल पार्टी अध्यक्षका रूपमा कार्यरत छन्।

रिफर्म युकेलाई सामान्यतया दायाँपन्थी लोकप्रीयतावादी दलका रूपमा चित्रण गरिन्छ, जसले आप्रवासन नियन्त्रणमा कडा नीति, कर दर घटाउने, सरकारी खर्च सीमित गर्ने तथा जलवायु सम्बन्धी नेट–जिरो नीतिहरूमा आलोचनात्मक दृष्टिकोण राख्ने जस्ता एजेन्डा अघि सारेको छ। यसले परम्परागत राजनीतिक दलहरू प्रति असन्तुष्ट मतदातालाई आफ्नो प्रमुख आधार बनाउँदै आएको देखिन्छ।

हालसम्म राष्ट्रिय स्तरमा सत्तामा नपुगे पनि यस पार्टीले स्थानीय तहदेखि केही सांसदसम्मको उपस्थिति विस्तार गर्न सफल भएको छ। पछिल्लो समय यसको सदस्यता र जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको विश्लेषकहरूले बताएका छन्।

राजनीतिक विश्लेषण अनुसार, रिफर्म युकेले बेलायतको मुख्यधार राजनीति, विशेषगरी कन्जरभेटिभ पार्टी र लेबर पार्टी, बीचमा असन्तुष्ट मतदातालाई आकर्षित गर्दै नयाँ राजनीतिक विकल्पका रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ।

विहिवार भएको स्थानीय निर्वाचनमा रिर्फम पार्टीले उल्लेख्य सिट ल्याउने अपेक्षा गरिएको छ ।

धेरै पढिएको