काठमाडौँ । कम्बोडियामा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे विवरण संकलन गर्दै थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले हालसम्म २११ जना नेपालीसँग सम्पर्क स्थापित गरेको जनाएको छ । स्वदेश फर्किने चाहना व्यक्त गर्दै उनीहरू दूतावासको सम्पर्कमा आएको सूचनामा उल्लेख छ ।
दूतावासका अनुसार अनलाइन विवरण संकलनका लागि आह्वान गरिएको फाराम भर्ने क्रममा ती व्यक्तिहरू सम्पर्कमा आएका हुन् । हालसम्म विवरण उपलब्ध गराउने २११ जनामध्ये ९ जना महिला रहेको जनाइएको छ ।
उनीहरू सन् २०२२ मेदेखि २०२६ मेसम्मको अवधिमा कम्बोडिया पुगेका देखिएको पनि दूतावासले जनाएको छ । यसैबीच, कम्बोडियाका विभिन्न कारागारमा २७ जना नेपाली विभिन्न कानुनी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको जानकारी पनि सार्वजनिक गरिएको छ ।
ती मुद्दा प्रक्रियाका क्रममा भाषा सम्बन्धी चुनौती आउन सक्ने भएकाले स्थानीय भाषा जान्ने कानुनी सहायताको आवश्यकता पर्ने दूतावासको भनाइ छ । दूतावासले थप जानकारी दिँदै २५ जना नेपाली हाल स्वदेश फर्कने क्रममा रहेको जनाएको छ ।
यात्रा व्यवस्थापनका सम्बन्धमा दूतावासले यात्रुहरूलाई कनेक्टिङ फ्लाइट भएका टिकट मात्र खरिद गर्न सुझाव दिएको छ ।
सो अनुसार टिकट नलिँदा ट्रान्जिट मुलुकको भिसा अनिवार्य हुन सक्ने, साथै सामान पुनः चेक-इन गर्नुपर्ने जस्ता प्राविधिक जटिलता आउन सक्ने भन्दै यात्रालाई सहज बनाउन यस्तो सावधानी अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै, कम्बोडिया जानुअघि केही नेपालीले २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना पनि प्राप्त भएको दूतावासले जनाएको छ ।