२७ बैशाख २०८३, आईतवार
Follow Us

एनआरएनएको लगानी सम्बन्धी प्रस्तावमा सरकार सकारात्मक : डा. हेमराज शर्मा, अध्यक्ष

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८३, आईतवार १४:३७

गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले आफ्नो डेढ वर्षे कार्यकालको मार्गचित्र तय भइसकेको र त्यसलाई सफल बनाउने प्रमुख उद्देश्य भएको बताएका छन् । १७ औं युरोप क्षेत्रीय सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले केन्द्रमा आइसीसीको एकता भएसँगै एनसीसीको एकतामा फोकस भएको पनि स्पष्ट गरे । उनले भने ‘करिब २० वटा एनसिसीहरूमा समानान्तर कार्यसमितिको समस्या थियो । तीमध्ये जटिल मानिएका १०–१२ वटा मध्ये हालसम्म सातवटामा एकता घोषणा भइसकेको छ र बाँकी पनि पाइपलाइनमा छन् । मे महिनाको अन्त्यसम्ममा सबै एनसिसीको एकता टुङ्ग्याएर विभाग र समितिहरूलाई पूर्णता दिने हाम्रो लक्ष्य छ ।’

अगष्ट १०–१२ मा हुन लागेको युरोप क्षेत्रीय सम्मेलनबारे चर्चा गर्दै अध्यक्ष शर्माले डायस्पोरालाई कसरी जोड्ने भन्ने मुख्य एजेन्डा रहेको उल्लेख गरे । त्यसका लागि सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड पनि दिए । यसैगरी एनआरएनएको महिला विभागले पनि ‘प्रथम ग्लोबल वुमेन कन्फ्रेन्स’ का लागि तयारी बैठक सम्पन्न गरिसकेको जानकारी दिँदै दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूको सम्मेलन काठमाडौँमा गर्ने गरी युवा विभागले काम गरिरहेको जानकारी दिए ।

सन् २०१८ देखि सुरु भएको ‘ग्लोबल नलेज कन्फ्रेन्स’ को चौथो संस्करणका लागि पनि तयारी थालेको बताउँदै अध्यक्ष शर्माले युरोप क्षेत्रले यस कार्यकालको पहिलो क्षेत्रीय सम्मेलन गर्ने घोषणा गरेकोमा बधाई दिए ।

संस्थालाई थप समावेशी र पारदर्शी बनाउने लक्ष्यका साथ १२ औँ अधिवेशनमार्फत महत्त्वपूर्ण निर्णय गरेको बताउँदै सन् २०२७ को निर्वाचनमा सबै पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत मतदान गरी अध्यक्ष लगायत कार्यसमितिको चयन गर्न पाउने विश्वास दिलाए । तर, यसबारे आगामी साधारणसभाले विधानका विस्तृत प्रक्रियाहरू टुङ्ग्याउने जानकारी दिए ।
नेपाल सरकारसँगको सहकार्यमा १० अर्बको एनआरएन फण्ड र १ खर्बको डायस्पोरा बन्डमा पनि काम भइरहेको जानकारी दिए । एनआरएनए फण्डमा सरकारको ५ प्रतिशत (५० करोड) लगानी रहने र हामीले १० प्रतिशत (१ अर्ब) आन्तरिक रूपमा उठाउने र बाँकी ८५ प्रतिशत रकम आइपिओ मार्फत गैरआवासीय नेपालीबाट संकलन गर्ने प्रस्ताव गरेको बताए ।

आफूहरुको लगानी प्रस्तावमा सरकार सकारात्मक रहेको जानकारी दिँदै ज्यसका लागि धितोपत्र बोर्डको नियम संशोधन गर्न अर्थमन्त्रीज्यूसँग सकारात्मक छलफल भएको पनि बताए ।
यस्तै, १ खर्बको डायस्पोरा बोण्डमा साना लगानीकर्ताहरूलाई (न्यूनतम १ हजार डलरसम्म) समेट्ने गरी यो योजना अघि बढाइएको उल्लेख गरे ।

धेरै पढिएको