बेलायतमा सत्तारूढ सरकारभित्रैबाट असन्तुष्टि बढ्दै गएको छ। सरकारका तीन जना जुनियर सदस्यहरूले राजीनामा दिँदै प्रधानमन्त्री केयर स्टार्मरलाई पद छाड्न आह्वान गरेका छन्।
पर्यावरण सचिव एम्मा रेनोल्ड्सका संसदीय निजी सचिव (पीपीएस) टम रटल्यान्डले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “प्रधानमन्त्रीले अब आफ्नो पदत्यागको समयतालिका सार्वजनिक गर्नुपर्छ र नयाँ नेताको चयनको प्रक्रिया सुरु गर्नुपर्छ भन्ने मेरो विश्वास छ।”
त्यस्तै, स्वास्थ्य सचिव वेस स्ट्रिटिङका पीपीएस जो मोरिसले पनि देश र पार्टीको हितका लागि प्रधानमन्त्रीले छिटो नयाँ नेतृत्व चयनको बाटो खोल्नुपर्ने बताएका छन्। उनका अनुसार यसले जनताको विश्वास पुनः स्थापित गर्न मद्दत गर्नेछ।
यसै क्रममा क्याबिनेट अफिसमा मन्त्री सहयोगीका रूपमा कार्यरत नाउशाबाह खानले पनि राजीनामा दिँदै नयाँ नेतृत्वको माग गरेकी छन्। उनले भनिन्, “हामीले जनताको विश्वास पुनः जित्न र राम्रो भविष्य निर्माण गर्न नयाँ नेतृत्व आवश्यक छ।”
गृह मन्त्रालयकी पीपीएस स्याली जेम्सनले पनि प्रधानमन्त्रीले पद छाड्नुपर्ने धारणा राखेकी छन्, तर उनले अझै औपचारिक रूपमा राजीनामा भने दिएकी छैनन्। उनले सेप्टेम्बर वा त्यसको केही समयपछि स्पष्ट समयसीमा तोक्नुपर्ने बताएकी छन्।
सरकारभित्रैबाट आएको यस्तो दबाबले बेलायतको राजनीतिमा नयाँ मोड ल्याउने संकेत देखिएको छ।