२ जेष्ठ २०८३, शनिबार
Follow Us

राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशन: विदेशबाट प्रत्येक देशबाट ११ प्रतिनिधि

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८३, शनिबार ०१:५३

लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी ७ देखि ९ असारसम्म चितवनमा पहिलो महाधिवेशन गर्ने मिति तय गरेको छ। पार्टी स्थापना भएको चार वर्ष पुगेको अवसरमा महाधिवेशन आयोजना गर्न लागिएको हो।

महाधिवेशनका लागि वडा र पालिका तहमा तदर्थ समिति गठन गरी अधिवेशनलाई दुई चरणमा सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ। महाधिवेशनबाट केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी छ तहका निर्वाचित समितिहरू गठन गरिनेछ।

यसअघि विभिन्न कारणले महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको थियो। पछिल्लो पटक गत फागुनमा तय गरिएको मिति पनि निर्वाचनका कारण स्थगित गरिएको थियो। चितवनको सौराहामा सम्पन्न विस्तारित बैठकले निर्वाचन सम्पन्न भएको छ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही अनुसार, वैशाख ३० गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंग्याएको हो।

शनिबारदेखि पार्टी औपचारिक रूपमा महाधिवेशनकेन्द्रित हुने भएको छ। जेठ २ गतेसम्म तदर्थ समिति गठन हुन नसकेका वडाहरू र जेठ ९ गतेसम्म पालिकाहरूमा भेला आयोजना गरिनेछ। ती भेलामार्फत बाँकी रहेका स्थानहरूमा तदर्थ समिति गठन गरिनेछ।

यसअघि गठन भइसकेका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन हुनेछ भने २५ वैशाखअघि गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन हुने तालिका छ। जेठ ३ सम्म समिति बनेका वडाहरूमा जेठ १६ मा र जेठ १० सम्म बनेका पालिकाहरूमा जेठ १७ मा अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ।

रास्वपाले ‘फास्ट ट्र्याक’ बाट महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। कुनै पालिकाका कम्तीमा ३० प्रतिशत वडा तथा कुनै जिल्लाका ३० प्रतिशत पालिकामा अधिवेशन सम्पन्न भए पनि माथिल्लो तहको अधिवेशन नरोक्ने व्यवस्था गरिएको निर्वाचन समितिका सचिव भूमिनन्द बरालले जानकारी दिए।

पार्टीका अनुसार हालसम्म करिब तीन हजार वडामा तदर्थ समिति गठन भइसकेको छ, जसमध्ये आधामा वडा अधिवेशन सम्पन्न भइसकेको छ। जिल्ला अधिवेशन भने २३ र २४ जेठ मा हुनेछ। अधिवेशन सम्पन्न भएका जिल्लाबाट ५ जना प्रतिनिधि चयन गरिनेछ। महाधिवेशनको तयारीका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ।


प्रतिनिधि छनोट व्यवस्था

पालिकाबाट प्रतिनिधि छनोट गर्दा:

२०१ भन्दा बढी सदस्य भएको गाउँपालिकाबाट १ जना
४०१ भन्दा बढी सदस्य भएको नगरपालिकाबाट २ जना
५०१ भन्दा बढी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना
७०१ भन्दा बढी सदस्य भएको महानगरपालिकाबाट ४ जना प्रतिनिधि पठाइनेछ

केन्द्रीय समितिमा रहेका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् भने प्रतिनिधि सभा सदस्यहरू पनि स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था छ।

केन्द्रीय विभागबाट प्रत्येकबाट ११ जना प्रतिनिधि रहने प्रावधान छ। रास्वपामा हाल ३६ विभाग छन्, तर अधिकांशमा पूर्ण संरचना गठन हुन बाँकी छ।

प्रदेश र जिल्ला अधिवेशन तालिका

रास्वपाले २६ जेठदेखि १ असारसम्म प्रदेश अधिवेशन गर्ने तालिका बनाएको छ:

बागमती: २६ जेठ
कोशी: २७ जेठ
मधेश: २८ जेठ
गण्डकी: २९ जेठ
लुम्बिनी: ३० जेठ
कर्णाली: ३१ जेठ
सुदूरपश्चिम: १ असार

धेरै पढिएको