२० हजार दर्शक उपस्थित हुने अपेक्षा
लण्डन । तमुधिं यूकेको आयोजनामा हुने २४ औँ गोर्खा कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।
आयोजक तमुधिं यूकेले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत यस वर्षको प्रतियोगितामा कुल ५६ टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष जुमकाजी गुरुङ र खेलकुद सचिव क्याप्टेन देव घलेले प्रतियोगिताको तयारीबारे विस्तृत जानकारी गराए।
यस वर्ष मुख्य (ओपन) तर्फ ३८, भेट्रान तर्फ १६ र महिला तर्फ २ टिम गरी जम्मा ५६ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा करिब २० हजार दर्शकको उपस्थिति रहने तथा करिब ४ हजार सवारी साधन भित्रिने अनुमान गरिएको छ।
प्रतियोगिता सफल बनाउन करिब १,५०० स्वयंसेवक १० दिनसम्म परिचालन गरिने आयोजकले जनाएको छ।
पुरस्कारतर्फ मुख्य टिम विजेताले ३,५०० पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २,००० पाउण्ड पाउनेछ। भेट्रानतर्फ विजेताले १,८०० पाउण्ड र उपविजेताले पनि १,८०० पाउण्ड प्राप्त गर्नेछन्। महिला तर्फ विजेतालाई ६०० पाउण्ड र उपविजेतालाई ४०० पाउण्ड प्रदान गरिनेछ। यस वर्ष पनि ‘लेजेंड अफ द गोर्खा कप’ उपाधि प्रदान गरिने घलेले जानकारी दिए।
खेल मैदानमा रहने कुल १२६ वटा स्टलमध्ये केही स्टलबाट व्यापारिक शुल्क लिइनेछ। सहभागिताका लागि मुख्य र भेट्रान टिमबाट प्रतिटिम ३५० पाउण्ड तथा महिला टिमबाट ३०० पाउण्ड दर्ता शुल्क निर्धारण गरिएको छ।
तमुधिं यूकेको औपचारिक कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए भने पत्रकार सम्मेलनको सहजीकरण मिडिया सचिव सरविन्द्र गुरुङ (एसके) ले गरेका थिए।
सोही अवसरमा गोर्खा कप खेलकुद समितिका कुमार घले, हिरा गुरुङ र क्याप्टेन देव घलेले टिम ड्र तथा खेल तालिका सार्वजनिक गर्नुका साथै समाजमा अनुकरणीय कार्य गर्ने तमुधिं यूकेका सदस्यहरूलाई सम्मान समेत गरेका थिए।
अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा तमुधिं यूके तथा आमा समूहका संस्थापक, पूर्व तथा निवर्तमान अध्यक्ष, संरक्षक, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न विभाग प्रमुखहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार ‘गोर्खा कप २०२६’ को २४औँ संस्करण सञ्चालनका लागि करिब ३ लाख ५० हजार पाउण्ड खर्च हुने अनुमान गरिएको छ।