लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले वंशजको नागरिकता सुनिश्चित गर्न राज्यका सबै निकायसँग निरन्तर समन्वय भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघ क्यानाडाले सोमवार आयोजना गरेको “वंशजको नेपाली नागरिकताको निरन्तरता” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले उक्त कुरा बताएका हुन् ।
डा. शर्माले सरकारले पठाएको गैरआवासीय नेपालीसम्बन्धी कानुनको मस्यौदामाथि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अध्ययन, संशोधन तथा सुझावसहित पुनः सरकारलाई बुझाइसकेको जानकारी दिए । उनले वंशजको नागरिकता सुनिश्चित गर्न राज्यका सबै निकायसँग निरन्तर समन्वय भइरहेको बताए ।
आइतवार सम्पन्न ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारासहित गैरआवासीय नेपाली संघ क्यानाडाद्वारा “वंशजको नेपाली नागरिकताको निरन्तरता” विषयक अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपालीहरूको नागरिकता, अधिकार, लगानी सुरक्षा तथा नेपाल सरकारसँगको समन्वयबारे गहन छलफल भएको थियो ।
कार्यक्रममा संघका महासचिव चिरीन्जीबी खड्काले गैरआवासीय नेपाली संघले सरकारसँग सहकार्य गरेर अघि बढ्ने नीति लिएको बताए । उनले सरकारबाट आएको कानुनको मस्यौदा देखेर आफूहरू पनि आश्चर्यचकित भएको उल्लेख गर्दै त्यसमा सुधारको आवश्यकता औंल्याए । कार्यक्रममा आइसिसी उपाध्यक्ष गोपीकृष्ण काफ्लेले सम्बोधन गर्दै सबैले एनआरएनए अभियानमा सघाउन अनुरोध गरे । उनले आफूले प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकताले “घर न घाट” बनाएको टिप्पणी गर्दै गैरआवासीय नेपालीहरूको लगानी सुरक्षाको ग्यारेन्टी नेपाल सरकारले दिनुपर्ने बताए ।
मन्तव्यको क्रममा संघका सचिव अभिमन्यु बस्नेतले विदेशमा बस्ने नेपालीप्रति आफ्नै परिवारभित्र समेत फरक मानसिकता रहेको अनुभव सुनाउँदै नयाँ सरकारबाट आशावादी भए पनि आएको मस्यौदाले निराश बनाएको बताए । यद्यपि, परराष्ट्र मन्त्रीले मस्यौदामाथि पुनरावलोकन गरिने आश्वासन दिएको र वर्तमान सरकार नागरिकता निरन्तरताको एजेन्डाप्रति सकारात्मक रहेको जानकारी दिए ।
कार्यक्रमको सभापतित्व एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष प्रतिक भण्डारी र कार्यक्रम सञ्चालन वरिष्ठ उपाध्यक्ष प्रजापति सापकोटाले गरे । कार्यक्रमको पहिलो एजेन्डामाथि स्पष्टिकरण प्रस्तुत गर्दै प्रवक्ता तिलाराम सापकोटाले नागरिकता निरन्तरताको विषय गैरआवासीय नेपालीहरूको साझा एजेन्डा भएको बताए । यसै गरि कोषाध्यक्ष इन्दिरा रिजालले नेपालमा गैरआवासीय नेपालीहरूले भोगिरहेका कानुनी जटिलताबारे धारणा राखिन् ।
कार्यक्रममा विज्ञ द्रोण रसाइलीले कार्यक्रमको सान्दर्भिकता उल्लेख गर्दै मुद्दालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले गैरआवासीय नेपाली नागरिकताभन्दा गैरआवासीय नेपाली परिचयपत्र प्रभावकारी रहेको धारणा राखे । उनले वंशजको नागरिकताको विषय गृह मन्त्रालयमार्फत अघि बढाउनुपर्ने सुझाव दिए । पुर्ख्यौली सम्पत्तिमा ५० प्रतिशत कर लगाउनु राणा शासनकालको सम्पत्ति हरणजस्तै भएको उनको भनाइ थियो । अर्का बक्ता प्राध्यापक डा. तुलसी धरेलले “अधिकार माग्ने होइन, खोस्ने हो” भन्दै २३ वर्षदेखि एउटै एजेन्डामा सीमित रहँदा पनि प्रभावकारी पहल गर्न नसकिएको बताए । उनले अहिलेको कानुनको मस्यौदालाई “क्रूर” भन्दै अब कडा आवाज उठाउनुपर्ने बताए ।
उक्त कार्यक्रममा मदन केसीले आफ्नो धारणा राख्दै आफू गैरआवासीय नेपाली संघ स्थापना कालदेखि नै यस अभियानसँग जोडिएको र एक पटकको नेपाली सधैंको नेपाली हुने र यसका लागि एनआरएन क्यानडासँगै रहेको बताए । अर्का बक्ता राष्ट्रिय स्वतन्त्र पार्टी क्यानडाका अध्यक्ष कुमार उप्रेतीले सरकारले तयार पारेको मस्यौदा एनआरएनएले सार्वजनिक गर्न आग्रह गरे । उक्त मस्यौदा अघिल्लो सरकारले ड्राफ्ट गरेको र कर्मचारी तहबाट बाहिरिएको हुनस्ने उनको भनाइ थियो ।
यसै गरि अर्का बक्ता एनसिएनसीका अध्यक्ष बेदनिधी गौतमले सबै एकजुट भएर अघि बढे सफलता हासिल गर्न सकिने बताए । एनआरएन क्यानडाका वरिष्ठ उपाध्यक्ष डा. पुन्यसागर मरहट्ठाले नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए । उनले अधिकारसँगै हाम्रो कर्तव्यको पनि समीक्षा गर्नुपर्नेमा जोड दिए । अहिले एनआरएनमा प्राज्ञिक नेतृत्व भएकाले यसले सरकारलाई सुझाव र निर्देशन गर्न सक्छ भन्दै उपस्थित व्यक्तिहरूलाई कति जनाले नेपालमा क्यानडाको पासपोर्ट देखाएर आन्तरिक ट्राभल गर्नुभएको छ भन्दै प्रतिप्रश्न गरे।
समाजसेवी ढुव्रीराज पाण्डेले अहिलेको गैरआवासीय नेपाली संघ पहिलेभन्दा धेरै एकजुट भएको र काम गर्न सजिलो हुने धारणा राखे । यसै गरी गैरआवासीय नेपाली क्यानडाको आफ्नै भवन निर्माणका लागि आइसीसीको सहयोगका लागि अनुरोध पनि गरे । कार्यक्रममा मुगाराज भण्डारीले “हामी आफूलाई नेपाली भन्छौं, तर नेपालले विदेशी भन्छ” भन्दै २३ वर्षसम्म पनि समाधान नहुनुमा रणनीतिक कमजोरी भएको बताए । अधिकार नपाए संघर्ष गर्नुपर्ने अवस्था आए आफूहरू तयार रहेको उनको भनाइ थियो । नेपाल हाउसका अध्यक्ष भूमिराज घिमिरेले गैरआवासीय नेपाली संघले कस्तो प्रकारको नागरिकता खोजेको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जगन सापकोटाले सहभागी सबैलाई धन्यवाद दिँदै अघिल्ला सरकारहरूले लामो समय काम गर्न नपाउँदा समस्या समाधान हुन नसकेको हुनसक्ने बताए । वर्तमान सरकार बलियो र दीर्घकालीन देखिएकाले नागरिकता निरन्तरताको विषयमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपाली संघ क्यानडाको धारणा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बुझाइसकेको र राज्यले पुनः सुझाव मागे थप प्रतिक्रिया दिने बताउनुका साथै क्यानडास्थित नेपाली व्यवसायीहरूको तथ्यांक संकलन भइरहेको र निकट भविष्यमा आफ्नै भवन निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । आगामी दिनमा यस्ता सामुदायिक कार्यक्रम आफ्नै कार्यालयबाट सञ्चालन गर्ने लक्ष्यसहित सहयोगका लागि सबैलाई अपिल गरिएको थियो ।