५ जेष्ठ २०८३, मंगलवार
Follow Us

जङ्गली च्याउ खाँदा एउटै परिवारका ३ चेपाङ बालबालिकाको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार ०५:१३

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका ३ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् ।

राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको आज बिहान ६ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

गत वैशाख २९ गते श्यामबहादुर चेपाङको ५ जनाको परिवारले जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएका थिए । त्यसपछि उनीहरू बिरामी परेका थिए । गम्भीर अवस्थामा रहेका ३ बालबालिकालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

मृतक नमूना कक्षा २, सञ्जय कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको विद्यालयले जनाएको छ । मृत बालबालिकाका बुबाआमा भने सकुशल छन् । दुई वालबालिकाको दाहसंस्कार भइसकेको छ भने आज मृत्यु भएका बालिकाको शव बुझ्ने तयारी भइरहेको प्रअ मगरले जानकारी दिए ।

धेरै पढिएको