१८ श्रावण २०८३, सोमबार
Follow Us

बेलायतकी मन्त्री सिमा मल्होत्रा नेपाल भ्रमणमा

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८३, शुक्रबार ०४:५०

लण्डन । बेलायतकी इन्डो–प्यासिफिक मामिला हेर्ने मन्त्री सिमा मल्होत्रा हाल नेपाल भ्रमणमा रहेकी छन्। उनको यो भ्रमणलाई नेपाल–बेलायत सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

काठमाडौंस्थित बेलायती दूतावासले उनको स्वागत गर्दै यो भ्रमण नेपाल–बेलायत सम्बन्धका लागि महत्वपूर्ण रहेको र दुई देशबीचको मित्रता तथा आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने अवसरका रूपमा लिइएको जनाएको छ।

सिमा मल्होत्रा बेलायतको लेबर पार्टीकी प्रभावशाली सांसद हुन्। उनी फेल्थाम तथा हेस्टन क्षेत्रबाट निर्वाचित भएकी हुन्। अन्तर्राष्ट्रिय सम्बन्ध, विशेषगरी इन्डो–प्यासिफिक क्षेत्रमा उनी सक्रिय रूपमा संलग्न रहँदै आएकी छन्।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिक रूपमा निकै गहिरो छ, जसको प्रमुख आधार गोर्खा सैनिकहरूको योगदान हो। दुई सय वर्षभन्दा लामो इतिहास बोकेको गोर्खा भर्ती परम्पराले दुवै देशबीच विशेष सम्बन्ध निर्माण गरेको छ र यसलाई सम्बन्धको बलियो सेतुका रूपमा लिइन्छ।

मन्त्री मल्होत्रा काठमाडौं पुग्नुअघि बेलायतस्थित भूपू गोर्खा अभियन्ताहरू पनि नेपाल पुगेका थिए। उनीहरूले परराष्ट्रमन्त्रीसँग भूपू गोर्खाहरूको समान पेन्सन तथा अधिकार सम्बन्धी आफ्ना मागहरू प्रस्तुत गरेका थिए।

धेरै पढिएको