काठमाडौँ । नेकपा एमालेले संघीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ‘गैरजिम्मेवार र हावादारी’ भएको निष्कर्ष निकालेको छ ।
शनिवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारद्वारा प्रस्तुत बजेटले आम जनताको भावना र देशको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक ऐनबहादुर महरले बजेटमाथि पार्टीको साझा दृष्टिकोण बनाउन घनीभूत छलफल भएको बताए । उनकाअनुसार बैठकमा बजेटका विभिन्न आयाम र प्राविधिक पक्षबारे पार्टीका शीर्ष नेता तथा विज्ञहरूले सहजीकरण गरेका थिए ।
सहजीकरण गर्नेहरूमा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाका साथै योजना आयोगका पूर्वउपाध्यक्ष डा. शिवराज अधिकारी रहेका थिए । विज्ञहरूको विश्लेषण र सांसदहरूको रायका आधारमा एमालेले बजेटमा रूपान्तरणकारी योजनाको अभाव रहेको निष्कर्ष निकालेको छ ।
एमालेले शिक्षा, कृषि र पर्यटन जस्ता महत्त्वपूर्ण क्षेत्रलाई बजेटले प्राथमिकतामा नराखेको आरोप समेत लगाएको छ । यसैगरी, बजेटको स्रोत सुनिश्चिततामाथि पनि एमालेले प्रश्न उठाएको छ ।
उनले भने- आज नेकपा एमाले संसदीय दलको बैठक भर्खरै सम्पन्न भएको छ । हामीले बैठकमा धेरै महत्त्वपूर्ण विषयमा छलफल गरेका छौँ । झन्डै ६ घण्टा हाम्रो छलफल चल्यो । मूलतः हिजो १५ गते सदनमा आर्थिक वर्ष ८१/८२ को बजेट प्रस्तुत भएको छ । त्यसको सन्दर्भमा पर्सिदेखि १८ गतेदेखि छलफल हुँदै छ ।