१० श्रावण २०८३, आईतवार
Follow Us

अमेरिकामा गेजा शर्मा वाग्ले सम्मानित

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०८३, शुक्रबार ०२:४०

न्यूयोर्क — नेपाली राजनीतिक विश्लेषक तथा सार्वजनिक व्यक्तित्व गेजा शर्मा वाग्लेलाई अमेरिकाको हेम्पस्टेड नगरपालिकाले एशियन अमेरिकन हेरिटेज मन्थको अवसरमा आयोजित विशेष समारोहमा सम्मान गरेको छ।

उक्त कार्यक्रममा चीन, भारत, नेपाल, पाकिस्तान, बंगलादेश, कोरिया, टर्की र फिलिपिन्सका प्रतिनिधित्व गर्ने आठ जना व्यक्तित्वहरूलाई आ–आफ्नो क्षेत्रमार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो। वाग्ले नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै सम्मानित हुनेमध्ये एक हुन्।

सम्मानपछि प्रतिक्रिया दिँदै वाग्लेले आफूलाई यस्तो सम्मान प्राप्त हुनु गौरवको विषय भएको बताए। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको उल्लेख गरे।

उनले भने, “यो सम्मानले मलाई नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन प्रेरित गरेको छ। लोकतान्त्रिक, उदार र समृद्ध नेपालको निर्माणका लागि अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

हेम्पस्टेडमा आयोजित उक्त समारोहमा विभिन्न समुदायका अगुवा, स्थानीय प्रतिनिधि तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य अमेरिकी समाजमा एशियाली मूलका समुदायहरूको योगदान, विविधता र नेतृत्वलाई सम्मान गर्नु रहेको थियो।

वाग्लेको यो सम्मानलाई नेपाली समुदायका लागि गर्वको विषयका रूपमा हेरिएको छ। यसले नेपाली डायस्पोराको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्नुका साथै नेपाल–अमेरिका सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

धेरै पढिएको