डायस्पोरालाई जोड्न ग्लोबल पार्टनरशिपमा जोड
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले जय नेपाल फाउन्डेसन र एनआरएनएबीच आगामी दिनमा नीतिगत तथा प्रोजेक्ट तहमा बलियो सहकार्य हुने बताउनुभएको छ। फाउन्डेसनको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष डा. शर्माले नेपाल सरकारसँग सम्बन्धित विभिन्न नीतिगत विषय, डायस्पोराका मुद्दा, मताधिकार (भोटिङ राइट्स) तथा नेपालमा लगानी भित्र्याउने जस्ता साझा एजेन्डाहरुमा दुवै संस्था सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो। विशेष गरी फाउन्डेसनका अभियन्ता यादव पण्डित लगायतको पहलकदमीको प्रसंशा गर्दै उहाँले नयाँ जिम्मेवारी पाएको टोलीसँग धेरै क्षेत्रमा सहकार्यका सम्भावनाहरु रहेको औंल्याउनुभयो।
अध्यक्ष डा. शर्माले आफ्नो कार्यकालमा एनआरएनएलाई अलिकति फरक र थप प्रभावकारी दृष्टिकोणबाट अगाडि बढाउन खोजिएको स्पष्ट पार्नुभयो। उहाँले विगतमा डायस्पोरालाई एनआरएनएले जति मात्रामा जोड्नुपर्ने हो, त्यसमा केही कमी कमजोरी रहेको स्वीकार गर्दै अबका दिनमा विश्वभर रहेका नेपाली र नेपालको हितमा काम गर्ने जय नेपाल फाउन्डेसन जस्ता संघ-संस्थाहरुलाई पनि एनआरएनएको नेटवर्कमा कनेक्ट गरिने बताउनुभयो। एनआरएनएले हाल अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका संयुक्त राष्ट्रसंघीय निकायहरुसँग सहकार्य गरिरहेको भए तापनि आगामी दिनमा ग्लोबल इन्गेजमेन्ट र पार्टनरशिप (विश्वव्यापी संलग्नता र साझेदारी) लाई अझ बढी फोकस गरिने उहाँको भनाइ थियो।
नेपालको समृद्धि र साझा लक्ष्य प्राप्तिका लागि आन्तरिक र बाह्य दुवै क्षेत्रको साझेदारी अनिवार्य रहेकोमा अध्यक्ष डा. शर्माले जोड दिनुभयो। उहाँका अनुसार नेपालभित्रका निजी क्षेत्र, विभिन्न संस्थाहरु र सरकारसँगको पार्टनरशिपसँगै विदेशमा रहेका नेपाली डायस्पोरासँग सम्बन्धित इन्स्टिच्युटहरुसँग पनि सहकार्य अगाडि बढाइएको छ।
विशेष गरी अमेरिका लगायतका क्षेत्रमा रहेका डायस्पोरालाई लक्षित गर्दै उहाँले संयुक्त राष्ट्रसंघको इकोनोमिक फोरम (आर्थिक मञ्च) मा एनआरएनएले सदस्यताका लागि आवेदन दिएको र त्यो स्वीकृत भएमा युएनसँग एनआरएनएको प्रत्यक्ष सम्बन्ध स्थापित हुने जानकारी दिनुभयो। अन्य व्यावसायिक संस्थाहरुसँग पनि सहकार्यको सोच बनाएको उल्लेख गर्दै उहाँले फाउन्डेसन समक्ष साझा क्षेत्रहरु पहिचान गरेर संयुक्त रुपमा अघि बढ्न औपचारिक प्रस्ताव समेत राख्नुभयो। एनआरएनएको आफ्नै आइसिसिटी बैठक र यो कार्यक्रम एकै समयमा परेका कारण पूर्ण समय दिन नसके पनि डायस्पोराका साझा मुद्धामा संस्था सधैं गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो।