४ भाद्र २०८३, बिहीबार
Follow Us

एनआरएनएमा ५ सदस्यीय संरक्षक परिषद गठन

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०८३, आईतवार १८:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थागत मजबुती, अनुभवको सदुपयोग तथा नीतिगत मार्गदर्शनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ५ सदस्यीय संरक्षक परिषद गठन गरेको छ।

आइतबार सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को ११५औँ बैठकले संघका संस्थापक तथा पूर्वअध्यक्षहरूलाई समेट्दै संरक्षक परिषद गठन गर्ने महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले निवर्तमान अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भिम उदास तथा पूर्वअध्यक्ष महेश श्रेष्ठलाई संरक्षकमा मनोनयन गरेको छ। संघको विधानअनुसार ५ सदस्यीय संरक्षक परिषद रहने व्यवस्था छ।

यसैगरी, बैठकले संघको आन्तरिक संरचनालाई थप व्यवस्थित बनाउने क्रममा विधान व्याख्या समितिको संयोजकमा पूर्वकोषाध्यक्ष हिक्मत थापा र अनुशासन समितिको संयोजकमा रतन झालाई चयन गरेको छ।

यी निर्णयहरूलाई संघको संस्थागत सुदृढीकरण, पारदर्शिता तथा सुशासन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। बैठकका अन्य निर्णयहरू भने क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

धेरै पढिएको