लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिहरूबीच एकता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ८ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनयन गरिएको छ ।
संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको ११५औँ केन्द्रीय समितिको बैठकले विभिन्न देशका ती पदाधिकारीहरूलाई केन्द्रीय संरचनामा मनोनयन गर्ने निर्णय गरेको हो, जसले राष्ट्रिय समितिहरूबीच एकता स्थापना गर्न योगदान पुर्याएका छन् ।
मनोनित हुनेहरूमा सबु पौडेल (नेदरल्याण्ड) सचिव, पदम गिरी (कतार) सचिव, सुरेश पुन (डेनमार्क) युरोप क्षेत्रीय उपसंयोजक, मिन श्रेष्ठ (फ्रान्स) सह-कोषाध्यक्ष, आरके महतो (मलेसिया) एशिया क्षेत्रीय संयोजक, रेम्स खनाल (माल्टा), सत्य झा (माल्टा) र दिनेश अर्याल आईसीसी सदस्य रहेका छन् ।
मनोनित पदाधिकारीहरूले सम्बन्धित राष्ट्रिय समितिमा सदस्यता शुल्क बुझाएपछि मात्र औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् । अन्यथा, उनीहरूको पद स्वतः रिक्त हुने संघले जनाएको छ ।
६ देशका विवाद समाधानका लागि प्रतिनिधि तोकियो
यसैबीच, बैठकले आगामी जुलाई ३१ भित्र एकता अधिवेशनमार्फत एकता कायम नगर्ने राष्ट्रिय समितिहरूलाई संघको आधिकारिक मान्यता नदिने निर्णय गरेको छ ।
विवाद रहेका ६ देशका लागि केन्द्रबाट सहजकर्ताहरू तोकिएको महासचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए । सहजकर्ताका रूपमा रोशन थापा (अमेरिका), दिनेश घिमिरे (पोर्तुगल), अनुजा प्रधान (अष्ट्रिया), राजेन्द्र अर्याल (कुवेत) र पारसमणि पोखरेल (कोरिया) लाई जिम्मेवारी प्रदान गरिएको छ ।