७ असार २०८३, आईतवार
Follow Us

बालेनका लागि १६ कोठे रिसोर्ट बुक, रिसोर्टका कर्मचारीलाई बिदा, सीसी क्यामेरा बन्द

नेपालब्रिटेन संवाददाता
७ असार २०८३, आईतवार ११:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह आइतबार चितवन पुगेका छन् । उनी उद्घाटन तथा बन्दसत्रमा सहभागी हुन श्रीमती र छोरीसहित चितवन आएका हुन् ।

प्रधानमन्त्री शाह चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा हालै निर्माण सम्पन्न भई सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने भएका छन् । उक्त रिसोर्ट ६ असारदेखि चार दिनका लागि बुक गरिएको जनाइएको छ ।

रिसोर्ट स्रोतका अनुसार १६ वटा कोठा चार दिनका लागि पूर्ण रूपमा आरक्षित गरिएको छ । १३ वटा कोठामा पाहुना रहने र बाँकी ३ कोठा आवश्यकताअनुसार प्रयोग गरिने बताइएको छ ।

प्रधानमन्त्री शाहको आगमनलाई ध्यानमा राख्दै रिसोर्टमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार नै नेपाली सेना र प्रहरीको टोली पुगेर सुरक्षा चेकजाँच गरेको थियो । सुरक्षाकर्मीहरू निरन्तर रूपमा परिचालन गरिएको छ ।

रास्वपा महाधिवेशन उद्घाटनस्थलबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा उक्त रिसोर्ट अवस्थित छ । रिसोर्ट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र सिद्धि जाने सडकको चोकमा पर्छ ।

प्रधानमन्त्री शाह, गृहमन्त्री सुदन गुरुङसहित बालेन पक्षका नेताहरू पनि सोही रिसोर्टमा बस्ने बताइएको छ । रिसोर्टमा तीन वटा भीभीआईपी कोठा छुट्याइएको छ ।

प्रधानमन्त्रीको बसाइका कारण रिसोर्टका अधिकांश कर्मचारीलाई अस्थायी रूपमा बिदा दिइएको छ। सीमित कर्मचारी मात्र परिचालन गरिएको छ, जसमा दुई जना किचनमा, दुई जना हाउसकिपिङमा र केही अन्य कर्मचारी सेवा दिन खटिएका छन् ।

सुरक्षा संवेदनशीलताका कारण रिसोर्टका सीसी क्यामेरा बन्द गरिएको र कर्मचारीलाई फोटो खिच्न तथा मोबाइल प्रयोगमा समेत रोक लगाइएको जनाइएको छ ।

यसैबीच, लटौली सेन्चुरी रिसोर्टसँगै सोही कम्पनीले सञ्चालन गरेको भ्युरानकोट रिसोर्टका १४ कोठा पनि चार दिनका लागि आरक्षित गरिएको छ । भ्युरानकोट रिसोर्ट लटौलीभन्दा करिब ४ सय मिटर माथि अवस्थित छ ।

स्थानीय ज्ञानेन्द्र खड्काले निर्माण गरेका यी दुवै रिसोर्ट पछिल्लो समय चितवनमा चर्चामा रहेका छन् । यसअघि रास्वपा महामन्त्री भूपदेव शाह पनि सोही रिसोर्टमा बसेका थिए ।

धेरै पढिएको