७ असार २०८३, आईतवार
Follow Us

समाजसेवी दधि आचार्यको प्रेरणादायी पहल : असहायको अनुहारमा मुस्कान !

नेपालब्रिटेन संवाददाता
७ असार २०८३, आईतवार १९:३४

लन्डन । सामान्यतया जन्मदिन भन्नासाथ केक, पार्टी र रमाइलोको कल्पना गरिन्छ । तर लन्डनमा बसोवास गर्दै आएका समाजसेवी दधि आचार्यका लागि जन्मदिनको अर्थ फरक छ—अरूको जीवनमा सानो खुशी थप्ने अवसर।

आफ्नो ५०औं जन्मदिनलाई विशेष बनाउने सोचसहित आचार्य केही दिनअघि लन्डनबाट नेपाल पुगे । तर उनको उत्सव कुनै भव्य समारोहमा होइन, बरु असहाय, अनाथ र वृद्धवृद्धाको बीचमा बित्यो, जहाँ उनले भोजन सेवा गर्दै उनीहरूको अनुहारमा मुस्कान देख्न पाए ।

ग्लोबल पर्वत समाजका अध्यक्षसमेत रहेका आचार्यले आफ्नो जन्मदिनको अवसरमा नेपाल स्नेही काख, साझा सहयात्री नेपाल, गलेश्वर ज्येष्ठ नागरिक आश्रम म्याग्दी र गुप्तेश्वर वेदवेदाङ संस्कृत पाठशाला, कुश्मा पर्वतमा आश्रितहरूलाई भोजन गराएका हुन् ।

यी संस्थाहरू केवल आश्रयस्थल मात्र होइनन्, संघर्षका कथाहरूले भरिएका जीवनका अध्यायहरू हुन्। श्रीनेहा पोखरेलद्वारा स्थापित नेपाल स्नेही काखले सडकमा अलपत्र परेका, मानसिक समस्याबाट पीडित तथा अपहेलित महिलाहरूलाई नयाँ जीवन दिने काम गर्दै आएको छ। उता गीता केसी दर्नालको नेतृत्वमा रहेको साझा सहयात्री नेपालले हिंसामा परेका बालिकाहरूलाई सुरक्षित भविष्य निर्माण गर्ने आधार प्रदान गरिरहेको छ, जहाँ हाल १८ जना बालिका आश्रित छन्।

आचार्यका लागि यो केवल सहयोग मात्र होइन, आत्मसन्तुष्टिको यात्रा पनि हो।
“मलाई केक काट्ने र स्याम्पेन चिअर्स गर्नेभन्दा पनि भोका वृद्धवृद्धा र बालबालिकाको हाँसोले साँचो आनन्द दिन्छ,” उनी भन्छन्।

उनको यो सोच कुनै एक दिनको आवेग होइन। लामो समयदेखि लन्डनमा बस्दै आएका आचार्यले हरेक वर्ष जन्मदिन वा अन्य विशेष अवसरहरूलाई सामाजिक सेवासँग जोड्दै आएका छन्। उनका लागि उत्सवको अर्थ खर्च होइन, योगदान हो।

धेरै पढिएको