पिटरबरो नेपाली समाजले वेलायतको मिड्ल्याण्डमा सकृय नेपाली संघसंस्थाहरुका बिचमा ब्याडमिन्टन टुर्नामेन्ट-२०२६ आयोजना गरि भब्यरूपमा सम्पन्न गरेको छ। उक्त प्रतिस्पर्धामा नेपाली समाज नटिङ्घम, गोर्खा टाइगर लेस्टर, शान्ती नेपाली समाज बर्मिङ्घम, गल्कोट समाज यूके र पिटरबरो नेपाली समाज गरि पाँच संस्थाहरूबाट १३ टोलि पुरुष र चार टोलि महिला गरि कुल १७ टोलि सम्मीलित भएका थिए।
गोलाप्रथाको आधारमा पुरुषहरुलाई चार समुहमा र महिलाहरूलाई दुई समुहमा बिभाजन गरि ‘लिग’ र ‘नक-आउट’ चरणका खेलहरु सम्पन्न गरिएको थियो। ‘लिग’ चरणमा १५ अंकका र नक-आउट चरणमा २१ अंकका तीन खेलमा २ अंकको अन्तरले जित्ने गरि खेलाईएको थियो।
पिटरबरोको मध्य भागमा अवस्थित पिटबरो हाईस्कूलको खेलकुद हलमा भएको कार्यक्रम बिहान १० बजे शुरु भएर दिउँसो ३:१५ बजे समापन गरिएको थियो।
निकै रोमाञ्चक प्रतिस्पर्धामा पिटरबरो नेपाली समाजका पुष्प उप्रेती र दल थापाको टोलिले गोर्खा टाइगर लेस्टरका प्रविन तामाङ र अमृत पाटामगरको टोलीलाई सोझो दुई खेलमा पछि पारेर प्रथम स्थान हासिल गर्न सफल भए। शान्ति समाज वेलायतका पदम शाही र साजन डंगोलले समय अभावमा तेस्रो स्थानमा प्रतिस्पर्धा गर्न असमर्थ हुँदा लेस्टर टाइगरका गौरव गैरे र रोहित मगरले तेस्रो स्थानका लागि स्वतः घोषित भएका थिए।
त्यसै गरि महिला तर्फ इन्द्र दुरा र बबिता सापकोटाले बर्षा उप्रेती र लक्ष्मी थापा विरुद्ध सोझो दुई सेटमा जीत हात पारेर प्रथम भए। तेस्रो स्थानमा मेघा पौड्याल र राधा लुइँटेल भण्डारीले मनु थापामगर र सृष्टि सापकोटालाई पछि पारेर तेस्रो स्थान सुरक्षीत गरे।
प्रथम, द्वितीय र तृतीय टोलिलाई स्वर्ण, रजत र कास्य पदक र प्रमाणपत्र तथा सहभागि सम्पूर्ण खेलाडीहरुलाई प्रमाणपत्र पिटरबरो नेपाली समाजका अध्यक्ष बिष्णु थापा र ट्रस्टी संयोजक केशव खतिवडाले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।
पिटरबरोमा हरेक हप्ता आइतबार हुने ब्याडमिन्टन तालिममा सबैभन्दा धेरै उपस्थित भएर ब्याडमिन्टन क्षमता अभिबृद्दी गर्ने सदस्यहरु बर्षा उप्रेती, बबिता सापकोटा र महेश अधिकारीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।
प्रतिस्पर्धाका दौरान खेलाडी तथा दर्शकहरूलाई चियापान, फलफुल र स्वादिष्ट भोजनको ब्यवस्थापन गरिएको थियो। National Lotto Fund बाट पिटरबरो नेपाली समाजलाई Community and Wellbeing शिर्षकमा प्राप्त धनराशिबाट प्रायोजित कार्यक्रम राजु सापकोटाले सञ्चालन गर्नुभएको थियो।
पिटरबरो नेपाली समाजका अध्यक्ष र ट्रस्टी संयोजक द्वयले मिड्ल्याण्डमा शुरूवात गरेको ब्याडमिन्टन प्रतिस्पर्धाले नेपाली समाजहरुमा स्वास्थ सचेतना अभिवृद्धि गर्दै सामाजिक अन्तर्घुलनलाई बढावा गर्न मद्दत गरेको प्रष्ट पार्दै सहभागी खेलाडी र कार्यक्रम ब्यवस्थापनमा खट्ने सम्पूर्ण सहयोगिहरु प्रति कृतज्ञता जाहेर गर्नुभयो।





