लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र चार वर्षदेखि जारी किचलो अन्त्य हुने संकेत देखिएको छ। संघको गत मे महिनामा सम्पन्न एकता अधिवेशनपछि बनेका अध्यक्ष महेश कुमार श्रेष्ठले दुवै पक्षबीच एकताको मार्ग खुलेको बताएका छन्।
नेपालब्रिटेन डट कमसँग आइतबार साँझ कुरा गर्दै श्रेष्ठले भने, “अब एकताको बाटो खुलेको छ। आज बसेको कार्यसमितिको बैठकले ९ बुँदे सहमतिको प्रस्ताव पारित गर्दै अध्यक्ष डा. बद्री केसीको कार्यसमितिसँग एकता गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको छ।”
उनका अनुसार कार्यसमितिका सदस्यहरूको भावना समेट्दै केही विषय सम्बोधनका लागि प्रस्ताव समेत गरिएको छ।
यसअघि आइतबारै अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकले बृहत् एकता अधिवेशनको तयारी गर्दै श्रेष्ठ पक्षका मागहरू सम्बोधन गरेर अघि बढ्ने निर्णय गरेको थियो। बैठकलाई सम्बोधन गर्दै डा. केसीले गत अक्टोबर ८ गते परराष्ट्र सचिवको उपस्थितिमा दुवै पक्षबीच एकताको सैद्धान्तिक सहमति भइसकेको जानकारी दिएका थिए।
डा. केसीले भने, “महेशजी, परराष्ट्र सचिव र मन्त्रालयका अधिकारीहरूबीच हामीले सहमति गरेका थियौं। संघको स्थापना दिवस अक्टोबर ११ तारिखमा विशेष कार्यक्रम गर्ने चाहना थियो, तर त्यो सम्भव भएन। अब एकता गरेर महाधिवेशन गर्ने हाम्रो लक्ष्य हो।”
बैठकमा संघका उपाध्यक्ष डा. हेमराज शर्माले एकता पछिको रणनीति र आगामी योजनाबारे कार्यसमितिलाई विस्तृत जानकारी दिएका थिए।
महासचिव गौरीराज जोशीले सञ्चालन गरेको बैठकमा अधिकांश सदस्यहरूले संघको १२औं महाधिवेशन सुनिश्चित गर्न आग्रह गर्दै, वार्तालाई अनावश्यक रूपमा लामो नगर्न सुझाव दिएका थिए।
बैठकमा संघका केन्द्रीय पदाधिकारी र सदस्यहरूको बाक्लो उपस्थिति थियो।
श्रेष्ठ समूहका प्रवक्ता गंगाधार गौतमसँग एकताको प्रस्तावबारे बुझ्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।