कुमार केसी ।
नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाको आयोजनामा जुन २७ मा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भर्चुअल जुम माध्यमबाट भव्य रूपमा सम्पन्न भएको छ। नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतस्थित करिब दुई दर्जन मुक्तककारहरूले आफ्ना समसामयिक तथा परिष्कृत रचनाहरू वाचन गरेका थिए।
नेपाल मुक्तक प्रतिष्ठान यूकेका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षता तथा सचिव गङ्गा भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रतिमा केसी ‘प्रवासी’ ले अतिथि तथा सहभागीहरूलाई स्वागत गरेकी थिइन्। कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठले कार्यक्रमको निरन्तरता र यसको औचित्यबारे संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि रामकाजी कोनेले शुभकामना मन्तव्यसहित उद्घाटन मुक्तक वाचन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा गजलकार विदेहमणि उपाध्याय, मुक्तककार संजिता देउजा तथा सल्लाहकारहरू डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र बिनोद अधिकारी अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा रामकाजी कोने, कुमार केसी, नृपेश उप्रेती, बिनोद अधिकारी, प्रतिमा केसी ‘प्रवासी’, जीत बुढाथोकी छन्त्याल, अहिल्या कुँवर, मोहन आचार्य ‘जलद’, डा. रुपक श्रेष्ठ, राज श्रेष्ठ, सुमलकुमार गुरुङ, संजिता देउजा, गङ्गा भण्डारी, रबिन्द्रलाल जोशी तथा माया गुरुङ लगायतका मुक्तककारहरूले प्रेम, सामाजिक यथार्थ र समसामयिक विषयमा आधारित तीन/तीन वटा मुक्तक वाचन गरेका थिए।
कार्यक्रमको समापनतर्फ प्रमुख अतिथि रामकाजी कोनेले प्रस्तुत मुक्तकहरूमाथि समीक्षात्मक टिप्पणी गर्दै सबै रचनाहरू उच्चस्तरीय तथा मुक्तक विधाको मर्मअनुसार रहेको उल्लेख गरे। उनले मुक्तक विधाको विकास र विस्तारमा यूके शाखाले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।
उक्त कार्यक्रममा हालै प्रकाशित दुई मुक्तक कृतिहरू ‘पोख्तक’ र ‘चौसुल’ का लागि डा. रुपक श्रेष्ठलाई तथा ‘कर्मवीर’ युद्ध उपन्यासका लागि सुमलकुमार गुरुङलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको थियो। साथै, अनेसास यूकेका अध्यक्ष तथा मुक्तक प्रतिष्ठान यूकेका कोषाध्यक्ष राज श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोमा सहभागीहरूले बधाई ज्ञापन गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले अतिथि तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम भव्य र प्रस्तुत रचनाहरू अत्यन्त स्तरीय रहेको उल्लेख गरे।