लण्डन – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतले ५२७ जनालाई क्रियाशील सदस्यता वितरण गरेको जनाएको छ। समितिका सभापति युवराज गुरुङका अनुसार केन्द्रीय अनलाइन प्रणालीमार्फत प्राप्त विवरणका आधारमा क्रियाशील सदस्यहरूको अन्तिम नामावली तयार गरिएको हो।
सभापति गुरुङले नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार आगामी अगष्ट महिनाको अन्तिम साता जनसम्पर्क समिति बेलायतको अधिवेशन (महाधिवेशन) गर्ने तयारी भइरहेको जानकारी दिए। सदस्यता वितरण सम्पन्न भएसँगै अधिवेशनको तयारी तीव्र बनाइएको उनले बताए।
गुरुङ्गले महाधिवेशनमा भाग लिन नेपाली जनसम्पर्क समितिका सदस्यहरूले समेत पाउने वैधानिक व्यवस्था अनुसार महाधिवेशनका लागि क्रियाशील सदस्यताको अतिरिक्त साधारण सदस्यता समेत वितरण गरिने बताए।
यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता सम्बन्धमा विस्तृत निर्देशन जारी गरेको छ। पार्टीका अनुसार क्रियाशील सदस्यता नवीकरण, अद्यावधिक तथा नयाँ सदस्यता वितरण प्रक्रियालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित गरिएको छ। विदेशस्थित जनसम्पर्क समितिहरूलाई Excel Sheet र PDF दुवै स्वरूपमा सदस्यहरूको नामावली पठाउन निर्देशन दिइएको छ।
केन्द्रीय परिपत्रअनुसार क्रियाशील सदस्यता वितरण तथा नवीकरण गर्दा सम्बन्धित देशका जनसम्पर्क समितिले आफ्नो कार्यसमितिबाट अनुमोदन गराएर मात्र नामावली पठाउनुपर्नेछ। सदस्यहरूको विवरणमा क्रियाशील सदस्यता नम्बर, ठेगाना, अभिभावकको नाम तथा सम्पर्क विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, सदस्यता शुल्क सम्बन्धमा पनि स्पष्ट व्यवस्था गरिएको छ। विभिन्न देशअनुसार फरक-फरक शुल्क निर्धारण गरिएको छ। सार्क मुलुकका लागि कम शुल्क तोकिएको छ भने युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशका लागि अमेरिकी डलर ३० सम्म शुल्क तोकिएको छ। त्यस्तै, मध्यपूर्व तथा अन्य देशहरूका लागि पनि छुट्टाछुट्टै शुल्क व्यवस्था गरिएको छ।
नयाँ क्रियाशील सदस्यताका लागि तोकिएको शुल्क बुझाउनुपर्नेछ भने नवीकरणका हकमा सो शुल्कको आधा रकम मात्र लाग्ने व्यवस्था गरिएको छ। साथै, जनसम्पर्क समितिहरूले संकलित रकममध्ये ५० प्रतिशत केन्द्रमा पठाउनुपर्ने र बाँकी ५० प्रतिशत स्थानीय रूपमा व्यवस्थापन गर्न सक्ने प्रावधान पनि उल्लेख गरिएको छ।
केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन जोड दिएको छ। साथै, तोकिएको समयसीमाभित्र सम्पूर्ण विवरण पठाई अधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।
क्रियाशील सदस्यता वितरण सम्पन्न भएसँगै अब बेलायतस्थित नेपाली कांग्रेस निकट कार्यकर्ताहरू अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारीमा जुटेका छन्। उक्त अधिवेशनले आगामी कार्यदिशा तय गर्नुका साथै संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


