१६ असार २०८३, मंगलवार
Follow Us

रोयल गोर्खा राइफल्सले मनायो आफ्नो ३२औँ वार्षिकोत्सव

नेपालब्रिटेन संवाददाता
१६ असार २०८३, मंगलवार ०५:५२

फोक्सटोन । फर्स्ट रोयल गोर्खा राइफल्स (वन आरजीआर) ले शनिबार सर जोन मूर ब्यारेक्समा विभिन्न कार्यक्रमहरूको आयोजना गरी आफ्नो ३२औँ वार्षिकोत्सव (जन्मदिन) मनाएको छ।

उक्त समारोहमा मेजर जनरल जी.एम. स्ट्रिकल्याण्ड (कोलोनेल कमान्डर, ब्रिगेड अफ गोर्खाज), ब्रिगेडियर डेभिड प्याक (कर्णेल, आरजीआर), कर्णेल डेभिड रोबिन्सन (कर्णेल, ब्रिगेड अफ गोर्खाज) लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

यस वर्षको प्रतिष्ठित ‘किङ्ग्स खुकुरी’ डब्लुओटु दिलकुमार तामाङले प्राप्त गरे। त्यसैगरी, यस वर्षको ‘रोयल अनर्स लिस्ट’ (शाही सम्मान सूची) मा पर्न सफल भएका कर्णेल डेभिड रोबिन्सन ओबीइ र आरजीआर ब्रुनाईका पण्डित भीष्म निरौला, एमबीइ, लाई सो अवसरमा विशेष सम्मान गरिएको थियो।

ब्रिटिस गोर्खा ब्यान्डले ‘स्कटल्याण्ड द ब्रेभ/हाइल्याण्ड ल्याडी’, ‘मिस्ट कभर्ड माउन्टेन’ र नेपाली गीत ‘मोहनी लाग्ला है’ लगायतका धुनहरू बजाएका थिए। उनीहरूले रेजिमेन्टल मार्च पनि प्रस्तुत गरे।

प्रतियोगितातर्फ छेलो खेलमा ‘सी कम्पनी’ का लान्स कर्पोरल शेर थापा र डोरी तान्ने प्रतियोगितामा ‘ए कम्पनी’ विजयी हुँदै पुरस्कार हात पार्न सफल भए। महिलातर्फ श्रीमती रोजिका गुरुङ र उपविजेता गङ्गा थापाले पनि पुरस्कार जिते।

‘दाजुभाइ ब्यान्ड’ का सदस्यहरूले ‘रेशम फिरिरी,’ ‘उडायो रेलैले’ जस्ता लोकप्रिय नेपाली गीतहरू गाउँदै गोर्खा सैनिक, उनीहरूका परिवार र अतिथिहरूलाई नचाएका थिए। वार्षिकोत्सव समारोहको अवसरमा ए स्टार मोर्गेजेज लगायतका कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शन समेत गरेका थिए।

सन् १९९४ मा रोयल गोर्खा राइफल्समा भर्ना भएका मेजर बबिन्द्र गुरुङले भने, “हामी मुख्य रूपमा सैन्य परिचालन सेवाका लागि समर्पित संगठन हौँ। तर, हामी आफ्ना सदस्यहरू र तिनका आफन्तहरूको कल्याण र हेरचाह गर्ने एउटा ठूलो विस्तारित परिवार पनि हौँ ।”

१ जुलाई १९९४ मा तत्कालीन चारवटा गोर्खा राइफल रेजिमेन्टहरू (2 GR, 6 GR, 7 GR र 10 GR) गाभिएर एउटै रेजिमेन्टको रूपमा ‘द रोयल गोर्खा राइफल्स’ को स्थापना भएको हो। रोयल गोर्खा राइफल्सलाई सैन्य व्यावसायिकतामा विश्वकै उत्कृष्ट मध्येको एक रेजिमेन्ट मानिन्छ। तन्दुरुस्त, उत्साही र प्रतिबद्ध अधिकृत तथा सैनिकहरू सम्मिलित यो रेजिमेन्ट आफ्नो विश्वप्रसिद्ध कार्यकुशलताका लागि पनि चिनिएको छ।
(सबै तस्बिरहरु साभार: बीएफबीएस गोर्खा रेडियो)

धेरै पढिएको