काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।
वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाई छ ।
उनले सरकारले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोस्ने, देशको सीमानाको विषयमा जथाभाबी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरू भएकाले आफूले संसदमा पनि धेरै विषयहरू बोल्ने पनि बताए ।
संयोजक दाहालले सरकार गलत बाटोमा गएकाले त्यस विरुद्ध आन्दोलनमा जुर्मुराउन पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरे ।
उनले भने ‘सरकार भर्खरै बनेर केही केही काम गरेँ । सुकुम्वासी, विद्यार्थी, ट्रेड युनियन, सीमाना भएपछि मैले एकचोटी पार्लियामेण्टमा बोलेँ । तपाईँहरूले सुन्नुभएको छ । अब फेरि बोल्दैछु । अब धेरै सामग्री तयार भएको छ । यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दै छ ।’
अध्यक्ष दाहालले आफूहरूले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भीर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताए ।