२५ असार २०८३, बिहीबार
Follow Us

नेपाली संस्कृति र पर्यटन प्रवर्द्धन गर्न पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

नेपालब्रिटेन संवाददाता
२५ असार २०८३, बिहीबार ०४:१४

युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक ‘नेपाल फेस्टिबल–२०२६’ आयोजना हुने भएको छ। आगामी जुलाई ११ मा पोल्यान्डको पोजनान सहरमा हुने महोत्सवमार्फत नेपाली संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

हामी नेपाली ग्लोबल–पोल्यान्ड शाखाको आयोजनामा पोजनानस्थित इम्पेरियल क्यासलमा हुने महोत्सव शनिबार बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

आयोजकका अनुसार महोत्सव जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत तथा पोल्यान्डसमेत हेर्ने सागरप्रसाद फुयाँलको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रममा पोल्यान्ड सरकारको संस्कृति विभाग, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई पनि आमन्त्रण गरिएको छ।

कार्यक्रममा पोल्यान्डमा रहेका नेपाली समुदायलाई नेपाली राष्ट्रिय झण्डासहित सहभागी भई महोत्सवलाई भव्य बनाउन आयोजकले आग्रह गरेको छ।

आयोजक संस्था हामी नेपाली ग्लोबल–पोल्यान्डका अध्यक्ष शान्ति श्रेष्ठका अनुसार महोत्सव दुई चरणमा सञ्चालन हुनेछ।

पहिलो चरणअन्तर्गत पोजनानस्थित मार्चिन ८०/८२, सेन्त्रुम कुल्टुरे जामेकबाट नेपालको राष्ट्रिय झण्डासहित सांस्कृतिक र्‍याली निकालिनेछ। र्‍यालीमा नेपाली मौलिक संस्कृति झल्काउने झाँकी, सांस्कृतिक नृत्य, संगीत तथा परम्परागत पोशाक प्रदर्शन गर्दै सहरका मुख्य क्षेत्रको परिक्रमा गरिनेछ।

दोस्रो चरणमा इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा दिउँसो १ः३० बजे औपचारिक कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा कार्यवाहक राजदूत, पोल्यान्ड सरकारका प्रतिनिधि, कूटनीतिक समुदाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

“नेपाल संस्कृतिको धनी देश हो। महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता, मौलिक पहिचान र पर्यटन सम्भावनाबारे परिचित गराउँदै नेपाल भ्रमणका लागि प्रेरित गर्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष श्रेष्ठले बताइन्।

कार्यक्रम संयोजक भविन्द्र गाहा मगर (भविन)ले महोत्सवलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर तयारीलाई तीव्र बनाइएको जानकारी दिए।

“हाम्रो उद्देश्य पोल्यान्डमा एउटा ‘मिनी नेपाल’को अनुभूति गराउने हो,” उनले भने।

हामी नेपाली ग्लोबल–पोल्यान्ड शाखा पोल्यान्ड सरकारमा विधिवत् दर्ता भएका नेपाली संस्थामध्ये एक हो। सन् २०२१ मा पोल्यान्डको केआरएस (KRS)मा दर्ता भएको यस संस्थाले त्यहाँ रहेका नेपाली समुदायबीच सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्दै आएको छ।

धेरै पढिएको