लन्डन — बेलायतमा निधन भएकी स्वर्गीय रञ्जिता भण्डारीको शव अन्तिम संस्कारका लागि नेपाल पठाउन झन्डै ७ हजार पौण्ड सहयोग संकलन भएको छ।
स्वर्गीय भण्डारीको परिवारले उनको अन्तिम संस्कार नेपालमै गर्ने इच्छा व्यक्त गरे पछि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको थियो । शनिबार बेलुकीसम्म ‘गो फन्ड मी’ मा ६,९०० पौण्ड भन्दा बढी रकम संकलन भै सकेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले स्वर्गीय भण्डारीको दुःखद निधनले सम्पूर्ण नेपाली समुदायलाई मर्माहत बनाएको बताए।
“रञ्जिता भण्डारीको असामयिक निधनले उनका पति दिवस थापा र दुई महिनाका शिशु छोरालाई गहिरो पीडामा छाडेको छ। यो अत्यन्त कठिन घडीमा शोकसन्तप्त परिवारलाई सहयोग गर्नु हुने सम्पूर्ण नेपाली समुदाय तथा शुभेच्छुकहरूलाई हामी हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछौं ,” उनले भने।
काठमाडौं, गोकर्ण निवासी रञ्जिता भण्डारी सन् २०२१ को अक्टोबरमा विद्यार्थीका रूपमा बेलायत आएकी थिइन्। उनी एक नर्सिङ होममा केयररका रूपमा कार्यरत थिइन्। सन् २०२४ को फेब्रुअरीमा दिवस थापासँग विवाह गरेकी उनी परिवारसहित प्रेस्टनमा बस्दै आएकी थिइन्।
छोरा करिब ५० दिनको मात्र हुँदा सन् २०२६ मे २२ मा रञ्जिताको निधन भएको थियो। हाल शिशु सामाजिक सेवाको संरक्षणमा छन् भने घटना पछि परिवार गम्भीर मानसिक तनावमा रहेको बताइएको छ।
परिवारका अनुसार रञ्जिता एक मायालु श्रीमती र स्नेही आमा थिइन्। हालसम्म उनको शव प्रेस्टनस्थित कोरोनरको जिम्मामा रहेको छ। शव नेपाल पठाउन आवश्यक खर्च जुटाउन सहयोग अभियान सञ्चालन गरिएको थियो ।
https://gofund.me/86802a30c
हाल बेलायतमा उच्च शिक्षा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरुमा आर्थिक समस्याका साथै मानसिक तनाव र चिन्ता बढ्दै गएको जानकारहरु बताउँछन्।
अध्यक्ष पुडासैनीले बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का साथै विभिन्न च्यारिटीहरुले नि: शुल्क मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने भएकाले कुनै पनि मानसिक समस्यालाई दबाएर नराख्न र तत्काल सहयोग लिन आग्रह गरे। उनले कुनै पनि समस्या आइपरेमा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए युके लगायत अन्य संघसंस्थालाई सम्पर्क राख्न पनि सुझाव दिए।