काठमाडौं । जेन जी अभियन्ता माजिद अन्सारीले आफु पक्राउ पर्दा कुनै पक्राउ पुर्जी नदिएको बताएका छन । हाल शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत अभियन्ता अन्सारीले आफुलाई पक्राउ पुर्जी बिना नै समातिएको भन्दै आपत्ति जनाएका छन ।
उनले सामाजिक सञ्जालमा लेखेका छनः
मिति २०८३ असार २७ गते शनिवार साँझ ५ बजे तिर १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको छ । मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन ।
के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ? त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु ।