टोकियो । नेपालमा विधिवत् दर्ता भई वैदेशिक शाखाका रूपमा क्रियाशील नेपाल पत्रकार महासङ्घ (FNJ) जापान शाखाको नाम र मर्यादाको चरम दुरुपयोग गर्दै जापानमा लाखौँ रुपियाँको अपारदर्शी आर्थिक कारोबार र चन्दा असुली भइरहेको तथ्य फेला परेको छ।
महासङ्घको नाम, प्रतिष्ठा र कूटनीतिक कभरेज प्रयोग गरेर टोकिओमा ‘FNJ Global Media Conference Japan 2026’ आयोजना गर्ने बहानामा जापानका नेपाली व्यवसायी, समुदाय र अन्तर्राष्ट्रिय सञ्चारजगतलाई नै गम्भीर भ्रममा पारिएको छ।
सम्मेलन जुलाइ २५ मा जापानको राजधानी टोकियोमा हुदैछ ।
निजी ‘सस्था’को खातामा चन्दा सङ्कलन
तथ्य र प्रमाणहरूका अनुसार, नेपाल पत्रकार महासङ्घ जापान शाखाको सन् २०१८ देखि नै आधिकारिक बैङ्क खाता सञ्चालनमा रहेको छ। जापानको युच्यो बैंक (Japan Post Bank) मा रहेको ‘エフ エヌ ジェ ジャパン’ (FNJ Japan) नामको उक्त खाता सञ्चालनमा हुँदाहुँदै त्यसलाई पूर्ण रूपमा ओझेलमा पारिएको छ।
तर, जुलाई २०२६ मा आयोजित मिडिया सम्मेलनको सम्पूर्ण आर्थिक सहयोग, प्रायोजन (Sponsorship) र चन्दा रकम भने उक्त आधिकारिक खातामा जम्मा नगरी बिल्कुलै अर्कै खातामा सङ्कलन गरिएको छ।
अध्यक्ष द्वारा ‘आफूखुसी’ निजी संस्था दर्ता
जापान सरकारको आधिकारिक दर्ता अभिलेख (登記簿謄本 – Toukibou Touhon) अनुसार सन् २०२५ मा शाखा अध्यक्ष निर्वाचित भएका रवीन्द्र श्रेष्ठले गत २०२६ मे २० (Reiwa 8) मा ‘一般社団法人 FNJ JAPAN’ (General Incorporated Association FNJ JAPAN) नामक संस्था निजी रूपमा दर्ता गराएका छन्।
पत्रकार महासङ्घको विधान, केन्द्रीय समिति वा शाखा कार्यसमितिको कुनै पनि औपचारिक निर्णयविना आफ्नै नेतृत्वमा दर्ता गरिएको उक्त छुट्टै संस्थाको नाममा 三井住友銀行 (SMBC Bank) मा नयाँ बैङ्क खाता (खाता नं. 0769785) खोलिएको छ। अहिले महासङ्घको सम्मेलनको नाममा सङ्कलन गरिने सम्पूर्ण प्रायोजन रकम सोही SMBC खातामा मात्र जम्मा गर्न दबाब दिने गरिएको छ।
नाम र लोगोको दुरुपयोग गरी सार्वजनिक भ्रम
सञ्चारमाध्यमलाई प्राप्त प्रचार सामग्री (पोस्टर) मा आयोजकका रूपमा “Organized by: FNJ Japan Branch” लेखेर विज्ञापन गरिएको छ। तर, आर्थिक लेनदेन भने शाखाको खातामा नभई श्रेष्ठको निजी नियन्त्रणमा रहने ‘一般社団法人’ को खातामा गराइएको छ।
यति मात्र होइन, महासङ्घको साविक लोगोलाई परिमार्जन गरी बाहिरी घेरामा जापानी भाषामा 一般社団法人 FNJ JAPAN थपेर नयाँ लोगो बनाई कानुनी र वित्तीय भ्रम सिर्जना गरिएको छ।
भिसा, ‘चन्दा आतङ्क’ र राजनीतिक सौदाबाजी
यसै सम्मेलनका नाममा नेपालबाट ४१ जना, अमेरिकाबाट १ जना, युरोपबाट १ जना र युकेबाट ३ जना गरी कुल ४६ जना पत्रकार तथा व्यक्तिहरूलाई टोकियो ल्याइएको छ। जापानमा संस्था (法人) दर्ता गरेर निमन्त्रणा पठाउन मिल्ने जापानी अध्यागमनको प्राविधिक छिद्र (Loophole) लाई प्रयोग गरी भिसा लगाइएको देखिएको छ।
जापानका नेपाली व्यवसायीहरूलाई सम्मेलनको सहयोगका नाममा जबरजस्ती चन्दा माग्ने र हवाइ टिकट काट्न दबाब दिने गरिएको छ।
एनआरएनए चुनाव र सौदाबाजी: गैर-आवासीय नेपाली सङ्घ (NRNA ICC) को आसन्त चुनावमा अध्यक्षका प्रत्याशी रोबिन शेरचनसँग चुनावी प्रचारमा सघाउने र जिताउन भूमिका खेल्ने सर्तमा सम्पूर्ण पत्रकारहरूलाई रात्रीभोज (Gala Dinner) तथा हवाइ टिकट प्रायोजन गराइएको स्रोतको दाबी छ।
केन्द्रीय समितिमा तीव्र विभाजन
जापानमा भइरहेको यो शङ्कास्पद र गैर-विधानसम्मत गतिविधिबारे जानकार हुँदाहुँदै नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्व नै विभाजित छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा र कोषाध्यक्ष रामकृष्ण अधिकारी सम्पूर्ण आर्थिक र कानुनी गडबडीबारे स्पष्ट हुँदाहुँदै पनि सम्मेलनमा सहभागी हुन टोकियो पुगेका छन्।
महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, र महासचिव रामप्रसाद दाहाल भने यो फर्जी सम्मेलन र आर्थिक अपारदर्शिताको कडा विरोध गर्दै कार्यक्रम पूर्ण रूपमा बहिष्कार गरेर काठमाडौँमै बसेका छन्।
एउटा ऐतिहासिक र निष्पक्ष पेसागत संगठनको नाम दुरुपयोग गरेर छुट्टै निजी संस्था दर्ता गर्ने, संस्थागत खातालाई पन्छाएर निजी खातामा आर्थिक सङ्कलन गर्ने र एनआरएनएको चुनावी सौदाबाजी गर्ने कार्य घोर अनुशासनहीनता, वित्तीय अपराध र पेसागत मर्यादाको चीरहरण हो।
जापानस्थित नेपाली समुदाय, व्यवसायीहरू तथा सञ्चारकर्मीहरूलाई ‘FNJ Japan Branch’ को नाममा आउने यस्ता भ्रामक र अपारदर्शी आर्थिक सहयोगका अपिलहरूबाट सचेत रहन र कुनै पनि रकम हस्तान्तरण गर्नुअघि संस्थागत आधिकारिकता पुष्टि गर्न सरोकारवाला निकायले अपिल गरेका छन ।