१२ श्रावण २०८३, मंगलवार
Follow Us

काँग्रेस संस्थापनइतरको राष्ट्रिय भेलाको तयारी तीव्र

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८३, मंगलवार ११:०७

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै देशभरका १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने आन्तरिक तयारी अघि बढाएको छ।

समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार १६ साउनभित्र प्रतिनिधि खटाउने तयारी भइरहेको छ। राष्ट्रिय भेलाको तयारी, संगठनात्मक समन्वय र स्थानीय तहसम्म सम्पर्क विस्तारका लागि प्रतिनिधिहरू परिचालन गर्न लागिएको उनले जानकारी दिएका छन्।

विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको समूहले यसअघि २९ साउनमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरिसकेको छ। ४४औँ बीपी स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उक्त भेलाको मिति सार्वजनिक गरिएको थियो।

भेलालाई प्रभावकारी बनाउन भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको परिचालनका लागि नेताहरूबीच जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ। समितिका अनुसार विभिन्न क्षेत्र सम्हाल्न १० जना नेतालाई जिम्मेवारी दिइएको छ।

नेपाल विद्यार्थी संघको समन्वयका लागि कुन्दनराज काफ्ले, नेपाल तरुण दलका लागि जीतजंग बस्नेत र नेपाल महिला संघका लागि उषा राउत मिश्रलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी नेपाल दलित संघका लागि यमुना विश्वकर्मा, नेपाल किसान संघका लागि गणेश तिमिल्सिना तथा लोकतान्त्रिक आदिवासी जनजाति समन्वयका लागि जगत बरामलाई जिम्मेवारी तोकिएको छ।

यस्तै, विदेश जनसम्पर्क समितिको समन्वय किरण पौडेल, काठमाडौँ जिल्ला सम्पर्क समितिको जिम्मेवारी मोहनबहादुर बस्नेत तथा ट्रेड युनियन परिचालनको जिम्मा हरिशरण नेपालीलाई दिइएको छ। खेलकुद क्षेत्रको समन्वयसमेत बस्नेतले नै हेर्ने जनाइएको छ।

प्रचारप्रसार समिति संयोजक विश्वकर्माले बुद्धिजीवी परिचालनको जिम्मेवारी आफैँले लिएको जानकारी दिँदै आवश्यकता अनुसार थप समिति गठन गरी अन्य भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरिने बताएका छन्।

धेरै पढिएको