विश्व नेपाली ज्ञान सम्मेलन–२०२७, ज्ञान हस्तान्तरण, एआई, लगानी प्रवर्द्धन र गैरआवासीय नेपाली ऐनसम्बन्धी विषयमा छलफल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027), ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (AI), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक विषयमा छलफल गरेको छ ।
भेटका क्रममा संघका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ तथा विशेषज्ञहरू नेपालमा आएर आफ्नो ज्ञान, सीप र अनुभवमार्फत योगदान गर्न इच्छुक रहेको जानकारी गराउँदै सम्मेलन सरकारका प्राथमिकताका क्षेत्रसँग सहकार्य गर्ने प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले सरकारका प्राथमिकतासँग मेल खाने करिब छ वटा विषयगत क्षेत्रमा केन्द्रित प्यानल छलफल सञ्चालन गरी त्यसबाट दीर्घकालीन कार्ययोजना तयार गर्न सकिने धारणा राख्नुभयो।
उहाँले सम्मेलनलाई केवल छलफलमा सीमित नराखी सरकार, निजी क्षेत्र, विश्वविद्यालय तथा विश्वभरका नेपाली विज्ञहरूबीच प्रभावकारी सहकार्यको मञ्चका रूपमा विकास गर्नुपर्ने उदेश्य रहेको उल्लेख्य गर्नुभयो ।
उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले सम्मेलनले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने उदेश्य समेत राखेको बताउनुभयो। उहाँले गैरआवासीय नेपालीसम्बन्धी ऐन समयमै कार्यान्वयन नहुँदा विदेशमा रहेका विशेषज्ञ तथा दोस्रो पुस्तालाई नेपालमा योगदानका लागि आकर्षित गर्न व्यवहारिक कठिनाइ भइरहेको उल्लेख गर्नुभयो।
उहाँले गैरआवासीय नेपालीसम्बन्धी ऐन छिटो कार्यान्वयन भएमा दोस्रो पुस्तालाई नेपालको विकाससँग जोड्दै ‘ब्रेन गेन’ केन्द्रित अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो। सरकार यस विषयमा सकारात्मक रहेकाले आफूहरू आशावादी रहेको उहाँको भनाइ थियो।
उपमहासचिव कृष्ण पोखरेलले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालमा हस्तान्तरण गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विदेशमा रहेका धेरै नेपालीहरू आफ्नै देशमा समेत दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भोग्न बाध्य भएको अनुभूति व्यक्त गर्दै संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन भएमा विश्वभर रहेका नेपाली विज्ञहरूलाई नेपालसँग जोड्न अझ सहज हुने धारणा राख्नुभयो।
उहाँले नेपाललाई आवश्यक दक्ष जनशक्ति, प्रविधि र अनुभव विदेशमा रहेका नेपालीहरूमार्फत उपलब्ध गराउन सकिने उल्लेख गर्दै त्यसका लागि सरकार र एनआरएनएबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो।
भेटका क्रममा संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले युरोप तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यसपटक दुवै क्षेत्रीय सम्मेलनमा नेपालमा लगानी प्रवर्द्धन, ज्ञान हस्तान्तरण तथा चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ लाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइने जानकारी गराउनुभयो।
जवाफमा सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सिनाले विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ केवल औपचारिक छलफलको मञ्च नभई ठोस परिणाम दिने सम्मेलन बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले तेस्रो विश्व नेपाली ज्ञान सम्मेलनले दिएका सुझाव, निष्कर्ष र निर्देशनमध्ये के–कति कार्यान्वयन भए भन्ने समीक्षा गर्दै चौथो सम्मेलनले नेपालका लागि कस्ता ठोस उपलब्धि हासिल गर्ने भन्ने विषयमा स्पष्ट प्रतिबद्धता र कार्ययोजनासहित अघि बढ्न आग्रह गर्नुभयो।
उहाँले सम्मेलनका विषयगत क्षेत्रहरू सरकारका विकास प्राथमिकता र योजनासँग मेल खाने देखिएको उल्लेख गर्दै नीति निर्माण, कार्यक्रम कार्यान्वयन तथा संस्थागत सहकार्यका सबै तहमा सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो। सम्मेलनले नेपालका लागि ठोस परिणाम, दीर्घकालीन प्रभाव र कार्यान्वयनयोग्य योजना प्रस्तुत गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
मन्त्री डा. तिमल्सिनाले आफू पनि लामो समय विदेशमा बसेको अनुभव सुनाउँदै विदेशमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको माया, चिन्ता र योगदान गर्ने चाहनालाई नजिकबाट बुझेको उल्लेख गर्नुभयो। विशेषगरी कृत्रिम बौद्धिकता (AI), सूचना प्रविधि (IT) तथा नवप्रवर्तनका क्षेत्रमा विदेशमा रहेका नेपाली विज्ञहरूको उच्च दक्षता र अनुभवलाई नेपालको विकाससँग जोड्ने पर्याप्त सम्भावना रहेको बताउँदै त्यसका लागि मन्त्रालय र सरकारका तर्फबाट आवश्यक सहकार्य र समन्वय गर्न आफू प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो।
