१४ श्रावण २०८३, बिहीबार
Follow Us

एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा, विश्वभरका एनआरएनए पदाधिकारी ग्वाङ्झाउमा जम्मा हुने

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८३, बिहीबार ०१:३६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। क्षेत्रीय संयोजक दीपक कंडेलका अनुसार सम्मेलनमा सहभागी हुन संघका अध्यक्ष डा. हेम राज शर्मा सहित विश्वभर रहेका एनआरएनएका पदाधिकारीहरू, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, लगानीकर्ता, पर्यटन व्यवसायी तथा पत्रकारहरू चीनको ग्वाङ्झाउमा भेला हुने तयारीमा छन्।

एनआरएनए अन्तर्गत एसिया–प्रशान्त क्षेत्रको आयोजनामा तथा विभिन्न राष्ट्रिय समन्वय परिषदहरूको सहकार्यमा आगामी सन् २०२६ अगस्त १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आयोजना हुँदैछ।

“आरोहण २०२६ – राइजिङ टुगेदरः कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एन्ड जेनेरेशनल लिंक्स” मूल नारासहित आयोजना हुने उक्त सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक तथा सामाजिक रूपमा जोड्ने तथा पुस्तान्तरणीय सम्बन्ध सुदृढ बनाउने लक्ष्य लिएको कंडेलले जानकारी दिए।

चीनको प्रमुख व्यापारिक केन्द्र ग्वाङ्झाउमा आयोजना हुने सम्मेलनले एसिया–प्रशान्त क्षेत्रमा रहेका दक्ष तथा स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी र पर्यटनका अवसरहरूसँग जोड्ने उद्देश्य राखेको छ। कंडेलका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ र नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई समेत आमन्त्रण गरिएको छ। सबै दलबाट सहभागिताको सुनिश्चितता भइसकेको उनले बताए।

सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (बी–टु–बी नेटवर्किङ), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा पूर्वाधार क्षेत्रका विषयमा विस्तृत छलफल गरिनेछ। साथै, श्रमिक सुरक्षा, महिला उद्यमशीलता र युवा सहभागितालाई विशेष प्राथमिकता दिइनेछ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई सम्मेलनले विशेष महत्व दिएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक रूपमा जोड्ने योजना पनि रहेको जनाइएको छ।

दुईदिने सम्मेलनमा पाँचवटा सत्रमार्फत कार्यपत्र प्रस्तुत गरिनेछ। पहिलो दिन, अगस्त १५ मा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थितिमा उद्घाटन समारोह आयोजना गरिनेछ। सोही दिन “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयमा विशेष सत्र सञ्चालन हुनेछ।

दोस्रो दिन, अगस्त १६ मा पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विस्तृत छलफल गरिनेछ।

सम्मेलनको समापनमा “ग्वाङ्झाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिनेछ।

सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

धेरै पढिएको