१४ श्रावण २०८३, बिहीबार
Follow Us

‘एनआरएन १० अर्ब लगानी’ परियोजना छिट्टै अघि बढ्छ: अनल भट्टराई सीईओ, आईपीओ जारी गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८३, बिहीबार ०१:०९

आईपीओ घोषणाको तयारी अन्तिम चरणमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत सञ्चालित एनआरएनए नेपाल डेप्लोमेन्ट फण्डले बहुप्रतीक्षित १० अर्ब रुपैयाँ बराबरको लगानी परियोजना छिट्टै कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। फण्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) अनल राज भट्टराईले आगामी केही महिनाभित्रै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने योजना अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

भट्टराईका अनुसार देशको राजनीतिक परिवर्तन तथा नीतिगत प्रक्रियाका कारण ढिलाइ भएको उक्त परियोजना अब तीव्र गतिमा अघि बढ्नेछ। “हामी कानुनी र प्रक्रियागत रूपमा पूर्ण तयारी अवस्थामा छौं,” उनले भने, “तर १० अर्बको लगानीमध्ये ८५ प्रतिशत शेयर विदेशमा रहेका नेपालीहरूलाई आईपीओमार्फत वितरण गर्न प्रस्ताव गरिएकोमा हाल ५१ प्रतिशत मात्र स्वीकृति प्राप्त भएकाले केही ढिलाइ भएको हो।”

उनले वर्तमान अर्थमन्त्रीसहित सम्बन्धित निकायहरूको सकारात्मक सहयोग रहेको उल्लेख गर्दै अब छिट्टै आईपीओ घोषणा गरिने विश्वास व्यक्त गरे। साथै, न्यूनतम १ लाख रुपैयाँको लगानी सीमा निर्धारण गरिएमा एकैपटक लाखौं नेपालीलाई पूँजी बजारमा सहभागी गराउन सकिने उनको भनाइ छ।

यसअघि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा बुधबार भएको छलफल अत्यन्त सकारात्मक रहेको जानकारी दिँदै भट्टराईले गैरआवासीय नेपालीहरूलाई लगानीमार्फत नेपालको समृद्धिसँग जोड्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

छलफलमा विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पूँजीलाई नेपालको पूँजी बजारमार्फत सुरक्षित, पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको एनआरएनए नेपाल डेप्लोमेन्ट फण्ड लिमिटेडको कार्यान्वयन, आवश्यक कानुनी तथा नियामकीय सुधार, डिजिटल इन्भेस्टमेन्ट म्यानेजमेन्ट सिस्टम (DIMS) सञ्चालन प्रक्रिया तथा आगामी कार्ययोजनाबारे विस्तृत विचार–विमर्श गरिएको थियो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग यस परियोजनाबारे भएको छलफलको सन्दर्भ उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने पहललाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले सम्बन्धित निकायहरूबीच सहकार्य गर्दै प्रक्रियालाई शीघ्रता दिने र फण्डलाई यथाशीघ्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे।

एनआरएनए नेपाल डेप्लोमेन्ट फण्ड लिमिटेड विश्वभर रहेका नेपालीहरूको लगानी, ज्ञान र अनुभवलाई नेपालको दिगो आर्थिक विकास, पूर्वाधार निर्माण, उत्पादनमूलक क्षेत्र तथा पूँजी बजारसँग जोड्ने एक दूरदर्शी राष्ट्रिय अभियानका रूपमा लिइएको छ। सरोकारवाला निकायहरूको सहकार्य र सकारात्मक सोचले यस पहललाई छिट्टै कार्यान्वयनमा लैजाने विश्वास गरिएको छ।

बैठकको निष्कर्षमा प्रवासी लगानीलाई नेपालको दिगो आर्थिक विकासको रणनीतिक आधारका रूपमा स्वीकार गर्दै यसलाई अगाडि बढाउने साझा समझदारी बनेको छ। धितोपत्र बोर्डले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि सहभागीहरू उत्साहित देखिएका छन्।

कार्यक्रममा धितोपत्र बोर्डका पदाधिकारीहरू, एनआरएनए नेपाल डेप्लोमेन्ट फण्डका डाइरेक्टर आरके शर्मा र रोजिना प्रधानलगायतको उपस्थिति रहेको थियो।

धेरै पढिएको