१४ श्रावण २०८३, बिहीबार
Follow Us

बिमस्टेकका ६० प्रतिशत आयोजना कार्यान्वयनमा

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८३, बिहीबार ०५:३५

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले बिमस्टेक गुरुयोजना (मास्टर प्लान) अन्तर्गतका ६० प्रतिशत आयोजनाहरू कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) द्वारा आयोजित ‘बिमस्टेक एट ३०ः क्षेत्रीय सहयोग, एकीकरण र साझा समृद्धिका लागि जनस्तरको सम्बन्ध अभिवृद्धि’ विषयक उच्चस्तरीय नीति संवादमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा महासचिव पाण्डेले बिमस्टेक सदस्य राष्ट्रहरूबीचको भौतिक तथा डिजिटल कनेक्टिभिटी, संस्कृति, ऊर्जा र विपद् व्यवस्थापनमा प्रगति भइरहेको बताए ।

समुन्द्री यातायात सहयोग सम्झौता सम्पन्न भएको र छिट्टै ‘बिमस्टेक मोटर भेहिकल एग्रिमेन्ट’ लाई अन्तिम रूप दिइने उनले बताए । भारतले दिगो समुन्द्री यातायात केन्द्र स्थापना गर्ने प्रस्ताव गरेको समेत उनले उल्लेख गरे ।

नेपालले संस्कृति, पर्यटन र गरिबी निवारण जस्ता महत्त्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहेको चर्चा गर्दै महासचिव पाण्डेले जनस्तरको सम्बन्ध विस्तारमा नेपालको भूमिका प्रशंसनीय रहेको बताए ।

नेपालले पर्यटन र संस्कृतिको क्षेत्रमा ‘सेन्टर अफ एक्सीलेन्स’ स्थापना गर्ने प्रस्ताव अघि सारेको छ, जसलाई क्षेत्रीय सहयोगको क्षेत्रमा महत्त्वपूर्ण योगदानका रूपमा हेरिएको छ । यस्तै, गरिबी निवारण र जनस्तरको सम्पर्क मञ्च (पिपुल टु पिपुल कन्ट्याक्ट फोरम) मा पनि नेपालले सक्रियतापूर्वक काम गरिरहेको छ महासचिव पाण्डेले बताए ।

क्षेत्रीय सुरक्षा र विपद् व्यवस्थापनका लागि ‘बिमस्टेक सेन्टर अफ एक्सीलेन्स इन डिजास्टर म्यानेजमेन्ट’ स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यसका लागि छ सदस्य राष्ट्रले समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् र बाँकी एक देशको स्वीकृतिपछि यो पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा भुटानले नेतृत्व गरिरहेको जानकारी दिँदै महासचिव पाण्डेले पर्वतीय अर्थतन्त्रको महत्वबारे जोड दिए । उनले ‘बिमस्टेक मौसम र जलवायु केन्द्र’ क्षेत्रीय सहकार्यको एक सफल र जीवित उदाहरण भएको बताए ।

‘यस केन्द्रले सदस्य राष्ट्रहरूका मौसम विज्ञान विभागहरूलाई एक ठाउँमा ल्याएर उनीहरूको मागको आधारमा अनुकूलित मौसम पूर्वानुमान गर्दछ र पूर्व सूचना प्रणालीको क्षमता अभिवृद्धिमा काम गरिरहेको छ’ उनले भने, ‘यो केन्द्र अहिले पूर्ण रूपमा कार्यात्मक छ र क्षेत्रीय सहकार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।’

धेरै पढिएको