काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख व्यवसाय अधिकृत रश्मि पन्तलाई पक्राउ गरेको छ । बैङ्किङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा सिआइबीले पन्तलाई पक्राउ गरेको हो ।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले बैङ्किङ कसुर अन्तर्गत केही वित्तीय कारोबार, निर्णय प्रक्रिया तथा व्यवस्थापकीय स्वीकृतिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा सिआइबीको हिरासतमा रहेका एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मामाथिको अनुसन्धानका क्रममा पन्तको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको सिआइबीले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्क, बैङ्क सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो । प्रतिवेदन अनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैङ्क लिमिटेडबाट ४८ करोड रुपियाँ कर्जा लिएको थियो । उक्त कर्जाका लागि बैङ्कका नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भन्ने कबुलियतनामाका आधारमा कर्जा लिइएको र त्यसपछि उक्त रकम तोकिएको प्रयोजनमा प्रयोग नगरी कम्पनीका अध्यक्षका पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ ।
नेपाल राष्ट्र बैङ्कले यसलाई बैङ्किङ कसुर तथा सजाय ऐनबमोजिम कर्जा दुरुपयोगसम्बन्धी कसुर भएको ठहर गर्दै अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो ।
सोही आधारमा सिआइबीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर असार ३० गते शर्मालाई पक्राउ गरेको थियो । रुपन्देहीको तिलोत्तमा–४ निवासी शर्मा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष रहेको सिआइबीले जनाएको छ ।
कर्जा दुरुपयोगमा बैङ्कको नेतृत्वकै संलग्नता
प्रभु बैङ्कका सञ्चालकदेखि प्रमुख व्यवस्थापक तथा सिइओसम्मको नेतृत्वमाथि नै सिआइबीले अनुसन्धान अघि बढाएको छ । सिआइबीले गत कात्तिक २२ गते प्रभु बैङ्कको प्रमुख कार्यालय बिजुलीबजारमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।
त्यसपछि सिआइबीले प्रभु समूहका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलसहित अन्य उच्च पदस्थ अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
प्रभु समूहका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि प्रभु म्यानेजमेन्ट कम्पनीको ९८ करोड रुपियाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाको उजुरीपछि भट्टचन, शेरचनलगायतलाई पक्राउ गरिएको हो ।
प्रभु समूहसँग सम्बन्धित आर्थिक हिनामिनाबारे अनुसन्धान जारी छ । तत्कालीन अध्यक्ष भट्टचन र सञ्चालक कुसुम लामाको संयुक्त कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिबाट करिब एक अर्ब रुपियाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
विसं २०६९ मङ्सिरदेखि २०८१ जेठसम्म अध्यक्ष भट्टचन र सिइओ शेरचनको संलग्नतामा प्रभु म्यानेजमेन्ट प्रालिमार्फत झन्डै तीन हजार सहकारी संस्थालाई मनी ट्रान्सफरका ‘सुपर एजेन्ट’ खडा गरी झन्डै एक अर्ब रुपियाँ धरौटीबापतको रकम उठाएर हिनामिना गरेको पाइएको छ ।