काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । नेपाली रुपैयाँमा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ ।
यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ । अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुईवटा विकल्प मात्र कायम गरिएको छ ।
यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
नेपालसहित ५० देशमा लागू
यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ ।
दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् । त्यस्तै, अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ ।
अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरेको जनाएको छ ।
अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।