लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि जित्न सफल संघकै अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत सेकेण्ड जेनेरेशन कोर्डिनेटर दीपमाला ढकाललाई हार्दिक बधाई ज्ञापन गरेको छ।
संघका प्रवक्ता सोम सापकोटाले आइतबार जारी गरेको विज्ञप्तिमा ढकालको यो उपलब्धि केवल व्यक्तिगत सफलतामा सीमित नभई विश्वभर फैलिएका गैरआवासीय नेपाली समुदाय, विशेषगरी दोस्रो पुस्ताका नेपाली युवाहरूका लागि प्रेरणा, आत्मविश्वास र नेपाली पहिचानप्रतिको गौरवको प्रतीक बनेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस सफलताले विश्वभरिका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो भाषा, संस्कृति, मूल्य–मान्यता र मातृभूमिसँग अझ सशक्त रूपमा जोडिन प्रेरित गर्ने विश्वास लिएका छौँ।”
त्यसैगरी, संघले आगामी दिनमा मिस वर्ल्डको प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने यात्राका लागि दीपमाला ढकाललाई हार्दिक शुभकामना व्यक्त गरेको छ। विश्वसामु नेपालको समृद्ध कला, संस्कृति, पर्यटन, विविधता तथा राष्ट्रिय पहिचानलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै सकारात्मक छवि उजागर गर्न सफल हुनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गरिएको छ।
संघले ढकालको सहभागिताले नेपाल र विश्वभर रहेका गैरआवासीय नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा दोस्रो पुस्तामा नेपालीपनप्रतिको अपनत्व र गर्वलाई थप उचाइमा पुर्याउने अपेक्षा गरेको छ।
अन्त्यमा, एनआरएनएले दीपमाला ढकालको उज्ज्वल भविष्य तथा निरन्तर सफलताका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।