काठमाडौं । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा गएको हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित अन्य आरोहीहरूको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ।
आइतवार परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अन्य मृतक आरोहीहरूलाई ‘नेपाली’ भनेर स्पष्ट उल्लेख गरिएको भए पनि पुर्जालाई भने ‘प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ)’ मात्र भनिएको छ, जसले मन्त्रालयको शब्द चयनप्रति प्रश्न उठाएको छ।
मन्त्रालयका अनुसार साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ तर्फ जाने क्रममा आएको हिमपहिरोमा परी नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा अन्तर्राष्ट्रिय आरोहण दलका अन्य सदस्यहरूको निधन भएको हो। यस घटनाले पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको मन्त्रालयले जनाएको छ।
घटनालगत्तै पाकिस्तानका निकायहरू र नेपाली टोलीको संयुक्त प्रयासमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने अन्यको खोजी कार्य जारी रहेको छ।
मन्त्रालयले इस्लामाबादस्थित नेपाली राजदूतावासमार्फत दिवङ्गत आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन आवश्यक सहजीकरण भइरहेको जानकारी दिएको छ। साथै, सरकारले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
प्रेस विज्ञप्ति
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा मिति २०८३ साउन १४ (३० जुलाई २०२६) का दिन ६,६०० मिटरको उचाइमा (क्याम्प-२ बाट क्याम्प-३ जाने क्रममा) गएको विनाशकारी हिम पहिरोमा परी आरोहीहरूको दुःखद निधन भएको छ।
यस दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा “निम्स दाइ” सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ “युक्ता”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उहाँहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।
नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका थिए। उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको हामी सराहना गर्दछौँ।
दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ “युक्ता” र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको छ भने बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ। साथै, आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको जानकारी गराइन्छ।
यस दुःखद घडीमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।
__
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८३ साउन १७