काठमाडौं । सरकार र मिटरब्याज पीडित पक्षबीच भएको लेनदेनसम्बन्धी ९ बुँदे सहमति तथा मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु–महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफ्ना हितविपरित गरिएका निर्णयहरू तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरूले सरकारले एकतर्फी रूपमा गरेको सहमति र मन्त्रिपरिषद्को निर्णय फिर्ता लिनुपर्ने अडान अघि सारेका छन् ।
मधेस प्रदेशका आठै जिल्लाबाट आएका साहु–महाजनहरूले जनकपुरधाम नगरको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि पुगेर प्रदर्शन गरेका थिए ।
पीडित लेनदेन संघर्ष समिति, मदेसका अध्यक्ष विजय यादवले सरकारले आफूहरूको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनका अनुसार माग पूरा नभए आगामी भदौ १ गतेदेखि काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्ने र माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘कानुनी राज्य बहाल गर’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूले लेनदेनसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित सबै पक्षलाई समेटेर त्रिपक्षीय वार्ता आह्वान गर्नुपर्ने माग समेत गरेका छन् ।