२२ श्रावण २०८३, शुक्रबार
Follow Us

एनआरएनए त्रैमासिक खर्च विवरण सार्वजनिक: केन्द्रीय कार्यालय खर्च बढ्दो, खातामा ७ करोड मात्र बचत

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८३, शुक्रबार १५:३३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्रैमासिक आर्थिक विवरण सार्वजनिक गरेको छ। संघका कोषाध्यक्ष कृष्ण तिमल्सिनाका अनुसार करिब चार महिनाको आर्थिक गतिविधि समेटिएको उक्त विवरणमा १२औं विश्व सम्मेलन (जनरल कन्भेन्सन) को खर्चसमेत समावेश गरिएको छ। संघले अबदेखि प्रत्येक तीन महिनामा नियमित रूपमा आर्थिक विवरण सार्वजनिक गर्ने जनाएको छ।

सार्वजनिक प्रतिवेदनअनुसार केन्द्रीय कार्यालय सञ्चालनमा उल्लेख्य रकम खर्च भएको देखिएको छ। विशेषगरी कन्सल्टेन्सी, सूचना प्रविधि (आईटी), प्रशासनिक तथा सञ्चालन र सेवा शीर्षकमा उच्च खर्च भएको उल्लेख गरिएको छ। प्रतिवेदनमा संघको खातामा हाल करिब ७ करोड रुपैयाँ मात्र मौज्दात रहेको जनाइएको छ।

२०२६ मार्च १५ देखि जुलाई १६ सम्मको अवधिलाई समेटिएको विवरणअनुसार कोर फन्डबाट कुल २ करोड ९० लाख ५५ हजार ५४६ रुपैयाँ ४८ पैसा खर्च भएको छ।

खर्च विवरणअनुसार सबैभन्दा ठूलो हिस्सा स्टाफ तथा मानव स्रोततर्फ रहेको छ। यस शीर्षकमा ७१ लाख ९७ हजार ९९१ रुपैयाँ ५५ पैसा खर्च गरिएको छ। त्यस्तै, १२औं जीसी (जनरल कन्भेन्सन) खर्चतर्फ १ करोड ६४ लाख ८१ हजार १७ रुपैयाँ ६१ पैसा व्यय भएको देखिन्छ।

आईटी विभागमा १० लाख ३८ हजार ४८२ रुपैयाँ ८० पैसा खर्च हुँदा कन्सल्टेन्सी सेवामा ९ लाख ८२ हजार २६४ रुपैयाँ ७० पैसा खर्च भएको छ। सेवा सम्बन्धी खर्च ९ लाख ७९ हजार ३७ रुपैयाँ ७३ पैसा तथा मर्मत तथा सम्भारमा ९ लाख २१ हजार ६२२ रुपैयाँ ४६ पैसा खर्च गरिएको छ।

प्रशासनिक तथा सञ्चालन खर्च ७ लाख ८२ हजार ८८९ रुपैयाँ ६१ पैसा रहेको छ भने वित्त विभागतर्फ ३ लाख ७५ हजार ७२० रुपैयाँ खर्च भएको छ। अन्य शीर्षकहरूमा आपतकालीन खर्च १ लाख ७८ हजार ९६ रुपैयाँ २ पैसा, बैठक तथा अन्तरक्रिया/कार्यशाला खर्च ९४ हजार ३२४ रुपैयाँ र कार्यालय उपकरण खरिदमा २४ हजार १०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

 

 

 

धेरै पढिएको