२२ श्रावण २०८३, शुक्रबार
Follow Us

एनआरएनए यूरोप सम्मेलनमा रास्वपा संसदीय दलका उपनेता पराजुली प्रमुख अतिथि

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८३, शुक्रबार १६:१०

३५ देशबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

आगामी सोमबार र मंगलबार आयोजना हुने सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. हेमराज शर्माले उक्त जानकारी दिएका हुन्। उनले रास्वपाका दलका नेता तथा प्रधानमन्त्री बालेन शाह रहेको वर्तमान सन्दर्भमा उपनेता पराजुलीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइनु सकारात्मक सन्देश भएको बताए।

उनले एनआरएनएका यूरोप, एशिया लगायत विभिन्न क्षेत्रीय सम्मेलनहरूले संघको लगानी र नागरिकता सम्बन्धी मुद्दामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, यी सम्मेलनहरू सम्पन्न भएपछि काठमाडौँमा संघका पदाधिकारीहरू भेला भई नयाँ कार्यक्रम घोषणा गरिने जानकारी पनि उनले दिए।

यूरोप संयोजक रोवर्ट लिम्बुको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिअनुसार सम्मेलनमा यूरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीको सहभागिता सुनिश्चित भइसकेको छ भने कुल सहभागिता करिब २५० पुग्ने अपेक्षा गरिएको छ।

सन् २००३ मा स्थापना भएको एनआरएनएले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई एक साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। हाल संघको सञ्जाल करिब ९२ देशमा विस्तार भइसकेको छ र एक लाखभन्दा बढी सदस्य आबद्ध छन्।

एनआरएनएको विस्तारसँगै यूरोप क्षेत्रीय सम्मेलनहरू यहाँस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएका छन्।

१७औँ यूरोप क्षेत्रीय सम्मेलन आगामी १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनस्थित र्याडिसन होटलमा आयोजना हुँदैछ।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंहा लगायत एनआरएनए नेतृत्व र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्रहरू आयोजना गरिनेछन्। यस वर्षको सम्मेलनले विशेष रूपमा गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, महिला, युवा तथा दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेको छ।

महिला केन्द्रित सत्रहरूमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य र कानुनी पहुँचका विषयमा छलफल हुनेछ भने युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रहरूले नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको दीर्घकालीन सम्बन्धमा केन्द्रित रहनेछन्।

सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षका लागि विश्वभर रहेका प्रवासी नेपालीहरूको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीबारे साझा मार्गचित्र निर्माण गर्ने लक्ष्य लिएको छ। आयोजकका अनुसार यो सम्मेलन गैरआवासीय नेपालीका अधिकार र सरोकारहरू नेपाल सरकार तथा राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, यूरोपस्थित नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने तथा नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ।

धेरै पढिएको