नारायण भण्डारी । अस्टिन । पाकिस्तानको ब्रोडपिक हिमाल आरोहण गर्दा हिमपहिरोमा परी १० जना आरोहीको ज्यान गएको घटनाले पाकिस्तानमा आरोहीको सुरक्षा गम्भीर चुनौती बनेको पुष्टि गरेको छ। मौसमी अवस्था अनुसार आरोहीलाई आवश्यक सुरक्षा नदिइएको भन्दै हालै सगरमाथा आरोहण गरेका अमेरिकाको अस्टिन निवासी आरोही अमृत परियारले दुर्घटनापछि १० घण्टासम्म आरोही टोलीसँग सम्पर्कको प्रयास नगरिनु ठूलो लापरबाही भएको बताएका छन्।
हिमपहिरोमा परी मृत्यु भएका ६ जना नेपाली र ४ जना विदेशी पर्वतारोहीलाई श्रद्धाञ्जली दिन बिहीबार अस्टिनस्थित पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा बोल्दै परियारले तत्काल उद्धार गर्न सकेको भए आरोहीहरू जीवितै फेला पार्न सकिने सम्भावना रहेको औंल्याए।
पाकिस्तानको उद्धार अवस्थाको नेपालसँग तुलना गर्दै उनले भने, “नेपालमा मौसमले साथ दिए ३० मिनेटभित्रै उद्धार प्रयास सुरु हुन्छ।”
नेपालको सगरमाथा ९ पटक आरोहण गरिसकेका र विश्वका १४ अन्य हिमाल ६ महिनामा आरोहण गरी विश्व कीर्तिमान राख्ने ब्रिटिस-नेपाली आरोही निर्मल पुर्जाको नेतृत्वमा ५ जना नेपाली शेर्पा, एक टेक्सास निवासी महिला, एक चिनियाँ, एक ओमानी र एक पाकिस्तानी आरोही ८,०४७ मिटर अग्लो ब्रोडपिक हिमाल आरोहण गर्दै थिए।
उक्त हिमालको ६,६०० मिटर उचाइमा आएको हिमपहिरोमा परेर उनीहरूको मृत्यु भएको हो।
श्रद्धाञ्जली कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आरोही परियारले हिमाली यात्राको सबैभन्दा ठूलो जोखिम हिमपहिरो नै भए पनि तत्काल उद्धारको व्यवस्था भए आरोहीको ज्यान बचाउन सकिने बताए।
उनले पाकिस्तानको घटनामा १० घण्टासम्म आरोही टोलीसँग सम्पर्कको प्रयास नगरिएको आक्रोश व्यक्त गर्दै भने, “१० घण्टापछि मात्र सम्पर्कको प्रयास हुनु त्यहाँको पर्यटन विभागको गम्भीर कमजोरी हो।”
उनले नेपाल सरकारले यस विषयमा आवश्यक छानबिन गर्नुपर्ने माग पनि गरे।
६ जना वरिष्ठ नेपाली आरोहीसहित १० जनाको ज्यान जानु ठूलो क्षति भएको उल्लेख गर्दै परियारले पाकिस्तानी हिमालमा थप सुरक्षा व्यवस्था नगरिए नेपाली आरोहीलाई त्यहाँ चढ्न प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे।
साथै, नेपालका ६ हजार मिटरभन्दा अग्ला हिमालको नाम मृतक आरोहीको नाममा राख्न वा सगरमाथा आधारशिविरमा उनीहरूको शालिक निर्माण गरी देशप्रति उनीहरूले पुर्याएको योगदानको सम्मान गर्नुपर्ने माग पनि उनले गरे।
‘ग्रेटर अस्टिन नेपाली समाज’ले उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा समाजका अध्यक्ष पदम ठकुराठीले नेपाली आरोहीहरूको योगदानको चर्चा गर्दै उनीहरूप्रति उच्च सम्मान व्यक्त गरेका थिए।